आयोगले भन्यो, ‘महाराजगञ्ज क्याम्पसको एमबीबीएस सिट घटाइदिन आईओएमबाट अनुरोध आयो’

काठमाडौँ, २४ असार । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले महाराजगञ्ज क्याम्पसलाई दिईएको एमबीबीएस तर्फको १०० सिट घटाइ ७६ कायम गरिदिन चिकित्सा शिक्षा आयोगलाई अनुरोध गरेको छ ।

यस्तै आईओएमले बी फार्मेसी तर्फको सिट ३० बाट घटाएर २० मा झारिदिन, बीएस्सी एमएलटी तर्फको सीट १५ बाट घटाएर १० मा झारिदिन अनुरोध गरेको छ ।

सोमबार आयोगले आफ्ना गतिविधिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोगका अधिकारीहरुले आईओएमबाट महाराजगञ्ज क्याम्पसलाई गतवर्ष देखि बढाएर पठाएको सिट घटाईदिन अनुरोध आएको जानकारी दिए ।

‘सिट घटाउने बारेमा गतवर्ष नै पनि अनुरोध आएको थियो । तर यसपटक अलि बढी नै अनुरोध गर्नु भएको छ । आयोगले गरेको यो निर्णयमा परिवर्तन हुँदैन्,’ आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले भने । उनले देशकै सबैभन्दा ठूलो इस्टिच्युट, बिरामीको चाप उस्तै, फ्याकल्टी पनि प्रयाप्त भएको सरकारी संस्थालाई १०० सिट आवश्यक नै रहेको बताए ।

तर आईओएमका डीन प्राडा दिव्यासिंह शाहले आईओएमले सिट घटाईदिनु भनेर अहिले चिठी नपठाएको दावी गरिन् ।

‘अहिले त आयोगले सिटको विषयमा आईओएमसंग सरोकार नै राख्दैन । सिधै कलेजहरुसंग पत्र आदानप्रदान गर्दो रहेछ । मलाई यसबारेमा केही थाहा छैन्,’ उनले भनिन् ।

उनले अघिल्लो वर्ष सिटको विषयमा कुराकानी गर्दा आयोगका अधिकारीहरुले ‘महाराजगञ्ज क्याम्पसलाई १०० सिट नदिने हो भने मिडियाले लेख्छ, त्यसैले पनि थप्नु पर्छ,’ भनेर तर्क गर्ने गरेको सुनाईन् ।

‘क्षमता, पूर्वाधार सबै कुरामा सक्षम छ भनेपछि न आवश्यक सिट दिने होला । पूर्वाधार अप्रयाप्त भएको ठाँउमा मिडियाले लेख्छ भनेर थपिदिनु त तर्कसंगत नै भएन नि । तर यो अहिलेको कुरा होईन् गतवर्षको कुरा हो,’ उनले भनिन् ।

उनले महाराजगञ्ज क्याम्पसलाई विभिन्न विषयमा विशेषज्ञ उत्पादन गर्ने संस्थाको रुपमा अघि बढाउन खोजेको बताईन् । एमबीबीएस पढाउने देशमा धेरै संस्था छ । महाराजगञ्जले डीएम एमसीएच जस्ता विशेषज्ञ उत्पादन गर्ने तहका कक्षा सञ्चालन गर्नुपर्छ भन्ने मान्यता हो । उनले भनिन् ।

यता महाराजगञ्ज क्याम्पसका क्याम्पस प्रमुख प्राडा अर्जुन लामिछानेले यसबारेमा अहिले कुरा गरेर अर्थ नहुने प्रतिक्रिया दिए । ‘अहिले कुरा गरेर कामै छैन् । आयोगले आफ्नो हिसावले काम गरिरहेको छ,’ उनले भने ।

महाराजगञ्ज क्याम्पसले सिट घटाउन भनिरहेका बेला अहिले निजी क्षेत्रका मेडिकल कलेजहरुले भने सिट कम भईरहेकोबताउँदै आएका छन् । उनीहरुले एमबीबीएसमा १५० सिट दिनुपर्ने भन्दै आएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *