‘लक’ले साथ दिएको बिरोध खतिवडाको आठ महिना
अपेक्षा अनुसार उनले न काम गरे न विवादमा परे
काठमाडौँ, २३ जेठ । खरो र हक्की स्वभावका बिरोध खतिवडा स्वास्थ्य मन्त्रीको रुपमा प्रवेश गर्दा यसरी यति चाँडै बाहिरिन्छन् भन्ने सायदै कसैले सोचेका थिए । पहिलो त पार्टीले छोटो अवधीको मन्त्री बनाएको हो, आलो पालो गर्नुपर्छ भन्ने आम सर्वसाधारणलाई थाहा थिएन् । दोस्रो उनी हक्की स्वभाव थिए र गर्ने कामबाट नै आफ्नो धेरै बिरोध हुन दिदैनन् भन्ने थियो ।
तर, जे हुँदैन भन्ने थियो त्यहि भयो । उनको कामबाट उनको पार्टी नै सन्तुष्ट बनेन् । पार्टीले उनलाई फिर्ता बोलायो । बरु पार्टीले उनकै राज्यमन्त्री बनेका भवानी खापुङलाई स्वास्थ्य मन्त्रीमा बढुवा गर्यो ।
नेकपा एकीकृत समाजवादीले आठ महिना अघि सरकारमा पठाएका सबै मन्त्रीहरुलाई कार्यकाल छ महिना हुनसक्ने बताईसकेको थियो । ‘खासमा कामका आधारमा तपाईँहरुले आफ्नो अवधी निर्धारण गर्नुहुन्छ । आफ्नो परफरमेन्स उत्कृष्ठ गर्न सक्नुभयो भने निरन्तरता हुन पनि सक्छ अन्यथा छ महिनामा अरु साथीहरुलाई पालो दिनु पर्न सक्छ,’ गत २२ असोजमा मन्त्री बनाएर पठाउँदा अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरुलाई भनेका थिए ।
त्यसबीचमा पार्टीले हरेक मन्त्रीको पर्सनल रेकर्ड राख्यो र प्राप्तांक दिदै गयो । उत्कृष्ठ नम्बर ल्याउन नसकेको भन्दै ठ्याक्कै आठ महिना पछि फिर्ता बोलायो ।
मन्त्रीको कार्यशैलीको बारेमा अध्यक्ष नेपालले सचिवालय देखि पार्टी निकट जनवर्गीय संगठनका अगुवाहरुसंग सुझाव लिने गर्दथे ।
मन्त्रीहरुलाई विवादास्पद काम नगर्न सुरु देखि नै सचेत गराउँदै आएका थिए । खतिवडाको विषयमा पनि उनले पटक पटक स्वास्थ्य सम्वद्ध जनवर्गीय संगठनका अगुवा, स्वतन्त्र भनिएका स्वास्थ्य क्षेत्रका विज्ञहरुसंग ‘फिडव्याक’ लिईरहेका थिए ।
सचिवालयका व्यक्ति देखि सञ्चारमाध्यमका समाचारबाट प्रतिक्रियाहरु लिईरहेका थिए । यी सबै पक्षको विश्लेषण गरेर उनलाई पिर्ता बोलाउने निर्णय गरेको बताइएको छ । भन्न त आलोपालो मन्त्री हुने भन्ने पूर्व समझदारी अनुसार नै पार्टीले आफूहरुलाई फिर्ता बोलाएको भन्ने गरेका छन् । तर उत्कृष्ठ काम गरेको ठहर भए केही मन्त्रीलाई निरन्तरता दिन सक्ने अध्यक्ष नेपालले सचिवालयको बैठकमा बताउने गरेका थिए ।
त्यसो त सबै मन्त्रीलाई फिर्ता बोलाएको पार्टीले स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ स्वास्थ्य मन्त्रीमा बढुवा गर्ला भनेर कमैले सोचेका थिए । तर भयो । ‘पुराना नेता, पहिले राज्यमन्त्री बनाउँदा नै पछि मन्त्रीमा बढुवा गर्छु भन्ने अध्यक्ष नेताको कमिटमेन्टले काम ग¥यो,’ नेकपा एसका एक नेता भन्छन् । ‘राज्यमन्त्रीको रुपमा खापुङको कार्यशैली साधारण नै हो । तर उनी सोझा छन्, ईमान्दार छन् । पुराना पनि हुन् । उनलाई सम्मान पनि गर्नुपर्ने थियो । त्यहि भएको हो,’ ती नेताले भने ।
‘भाग्यमानी’ ठहरिएका बिरोध
स्थानीय तहको निर्वाचनका लागि जिल्ला जानु अघि स्वास्थ्य मन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रका केही अगुवा पत्रकारलाई कार्यकक्षमै बोलाएर आफ्नो कामको बारेमा फिडव्याक लिएका थिए । त्यसबेला अधिकांश पत्रकारहरुले तपाईँ ‘लक्की’ मन्त्री हुनुभयो भनेर सुनाएका थिए ।
उनीहरुले उत्कृष्ठ काम खासै नदेखिएको, विवादास्पद हुने ठाँनिएको कुराहरुमा पनि जोगिएको भन्दै ‘लक्की’ मन्त्री हुनुहुभयो भनेर सुनाएका थिए । ‘तपाँईं लक्की हुनुभयो । किनभने तपाईँका बारेमा त्यति नराम्रा समाचार आएनन् । यसको अर्थ तपाईँले उत्कृष्ठ काम गरेर होईन् । एकदमै विवादमा पर्ने विषयमा पनि तपाईँ जोगिनु भयो । तसर्थ तपाँईं लक्की हुनुभयो । तपाईँ भाग्यमानी हो,’ एक जना सञ्चारकर्मीले त्यसबेला भनेका थिए ।
के केमा पर्न सक्थे विवादमा ?
उनी मन्त्री भएपनि टिममा बसेर काम गर्ने स्वभावका थिएनन् । सचिवालयका एक जना सदस्य भन्छन्, ‘एकल निर्णय गर्न खोज्ने, सल्लाहहरु कमै सुन्ने, आफूलाई जे लाग्यो त्यहि गर्न कस्सिने खालको स्वभाव थियो । त्यसले पनि कतिपय काम गर्न अफ्टेरो भयो । कार्यक्रमहरुमा तयारी गरेर नजाने, हल्का ढंगले प्रस्तुत हुने उहाँको स्वभावले पनि निकै अफ्टेरो पार्ने गर्दथ्यो । तर भाग्यबस उहाँ कुनै ठूलो विवादमा पर्नु भएन ।’
उनका पालामा २४ लाख डोज खोप हराएको भन्ने विषय उठेको थियो । स्वास्थ्य सचिव डा रोशन पोखरेलले संसदीय समितिमा बोलेको कुराले विवाद पार्न सक्थ्यो तर सो विषयलाई तत्कालै सच्याउन सफल भए । खोप प्रयाप्त भएको अवस्थामा सो विषयलाई त्यति चासोका साथ हेरिएन । बरु उनले पनि त्यसलाई छानवीन कमिटि गठन गरी सुल्झाउने प्रयासमा लागे ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, रजिष्ट्रार लगायत सबै पदाधिकारीहरुलाई हठात रुपमा हटाएका थिए । यो विषय सर्बोच्चमा गयो । सर्बोच्चले उनको निर्णय उल्ट्याई दियो । उनको त्यसबेलाका निर्णय सिधा सिधा राजनीतिक प्रतिसोधको थियो । स्थानीय नेताहरुले माधव नेपाललाई उजुरी गरेको आधारमा हटाउने निर्णय गरेको आफैले समेत गरेको पछि भन्ने गरेका थिए । यसमा पनि उनी जोगिए ।
मन्त्री खतिवडाले धरानको उपकुलपति तथा पदाधिकारीहरु हटाउने र स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञलाई पठाउने निर्णय गरेका थिए । धरानको विषय लामो समयदेखि विवादमा परेकोले त्यसबारेमा निर्णय गर्दा त्यति अस्वभाविक मानिएको पनि थिएन । तर प्रक्रियागत त्रुटी गरे । जसका कारण सर्बोच्चले उनको निर्णय उल्ट्याईदियो ।
यस्तै बीर अस्पतालको प्रमुख कार्यकारी अधिकारी परिवर्तन गर्ने निर्णय देखि सरुवाका अन्य थुप्रै निर्णयमा उनले व्याक हुन परेको थियो । समूह नमिल्ने, ऐन कानून बाँझिने निर्णयहरु गर्दा समस्या भएको स्वास्थ्यका अधिकारीहरु बताउँछन् । यद्धपी उनका कामहरु विवादित बन्दा पनि उनी त्यति विवादित देखिएनन् । तसर्थ पनि उनी लक्की ठहरिएका हुन् ।
उनी यस मानेमा पनि भाग्यमानी ठहरिए उनकै पालमा कोभिडविरुद्धको खोप छ्यालफ्याल जस्तै भयो । खोप लगाउने मान्छे नै नपाउँदा आएका खोप नै खेरजाने अवस्था हुन पुग्यो । यहिबीचमा टाइफाइडबिरुद्धको खोप अभियान सुरु गर्ने मौका पनि पाए ।
खोपमा लक्की बनेका उनले विश्व स्वास्थ्य संगठनका महानिर्देशकलाई समेत आफ्नै कार्यकक्षमा स्वागत गर्न पाए । यसर्थ उनी आफ्नो कार्यकाल सफल भयो भनेर आत्मसन्तुष्ठीमा रमाउन भने सक्दछन् । यस्ता सानातिना र भैपरी आउने कामलाई हेरेर आफ्नो कार्यकाल सफल भयो भनेर आत्मसन्तुष्ठीमा रमाउन भने सक्दछन् ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

