डब्लुएचओले ल्यायो सुर्तीजन्य पदार्थको लत छुटाउने ‘एप’
नयाँ दिल्ली । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चुरोट तथा सुर्तीजन्य पदार्थको लत त्याग्न मद्धत गर्ने नयाँ ‘एप’ सञ्चालनमा ल्याएको छ ।
‘कुईट टोबाको एप’ नाम दिइएको सो ‘एप’को प्रयोगले धूमपान र धूमपानरहित सुर्तीजन्य पदार्थको लत लागेका व्यक्तिहरुलाई सो लत त्याग्न मद्धत पुग्ने बताइएको छ ।
‘सुर्तीजन्य पदार्थ हरेक कुराले घातक छ । व्यक्तिहरुले सुर्तीजन्य पदार्थले गर्ने हानीका बारेमा थाहा पाएर पनि विभिन्न कारणले त्याग्न सकिरहेका छैनन् । यो एपले त्यस्ता व्यक्तिहरुलाई लतबाट छुटकारा दिलाउन मद्धत गर्दछ । त्यसैले यो एप आजबाट शुभारम्भ गरेका छौँ,’ गत मंगलबार एप सार्वजनिकीकरण कार्यक्रममा डब्लुएचओको दक्षिणपूर्वी एशिया क्षेत्रका निर्देशक डा पुनम क्षेत्रपाल सिंहले भनिन् ।
डब्लुएचओले यसवर्ष सुरु गरेको ‘कमिट टू कुईट’ अभियानकै सन्दर्भ पारेर मंगलबार यो ‘एप’ सार्वजनिक गरेको हो ।
सबैप्रकारको सुर्तीजन्य पदार्थ लक्षित यो ‘एप’ले सुर्तीजन्य पदार्थ प्रयोगकर्ताहरुको पहिचान गर्न उनीहरुको लक्ष्य निर्धारण गर्न, यसप्रतिको मोह व्यवस्थापन गरी सुर्तीजन्य पदार्थ छोड्नका लागि ध्यान केन्द्रीत गराउने दावि गरिएको छ ।
संसारमा रोक्न सक्ने मृत्युको प्रमुख कारण सुर्तीजन्य पदार्थको प्रयोग हुनु मानिन्छ । यसको प्रयोगले संसारभर हरेकवर्ष ८० लाख बढी व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।
सुर्तीजन्य पदार्थ नसर्ने रोगको प्रमुख कारक तत्व मानिन्छ । क्यान्सर, हृदयघात, मधुमेह जस्ता नसर्ने रोग प्रमुख कारक सुर्तीजन्य पदार्थ हो । यस्तै कोभिड-१९ ले पनि सुर्तीजन्य पदार्थ प्रयोगकर्तालाई अन्यलाई भन्दा बढी असर गरेको पाइएको छ ।
डब्लुएचओको ग्लोबल रिपोर्ट अन टे«न्ड इन प्रिभलेन्स अफ टोबाको युज (२००० – २०२५) को चौथो संस्करण २०२१ अनुसार दक्षिणपूर्वी एशियामा यसको प्रयोगकर्ताहरु तिब्र रुपमा घटेका छन् । यद्धपी अहिले पनि ४३ करोड २० लाख जना अर्थात २९ प्रतिशत प्रयोगकर्ताहरु यहि क्षेत्रमा छन् । विश्वमा रहेका कुल ३५ करोड ५० लाख धुवारहित सुर्तीजन्य पदार्थ प्रयोगकर्तामध्ये यस क्षेत्रमा मात्रै २६ करोड ६० लाख व्यक्ति रहेको डव्लुएचओले बताएको छ ।
पछिल्लो समय इलेक्ट्रोनिक सिगरेट, शिशा तथा हुक्का जस्ता नयाँ नयाँ सुर्तीजन्य पदार्थको प्रडक्ट थपिएका कारण यसलाई निन्त्रण गर्न थप चुनौती थपिएको डब्लुएचओले बताएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

