हुम्लामा आजबाट बालबालिकालाई मोडर्ना खोप लगाइँदै

हुम्ला, ५ पुस । स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार पाँच गाउँपालिकाका लागि तीन हजार ५०० बढी कोभिड–१९ विरुद्धको मोडर्ना खोप गाउँ पठाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारबाट देशभरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप लगाउन सुरु भए पनि जिल्लामा आजदेखि लगाउन सुरु हुन लागेको हो।

स्वास्थ्य सेवा कार्यालयले खार्पुनाथ, ताँजकोट, नाम्खा र अदानचुली गाउँपालिकामा रहेका बालबालिकाको लागि तीन हजार ५३० मोडर्ना खोप खोप केन्द्रमा पठाएको छ। आइतबारबाट खोप लगाउने भए पनि प्राविधिक समस्याका कारण खोप गाउँमा पठाएर सोमबारबाट बालबालिकालाई लगाइने कार्यालयका कोल्डचेन अशिस्टेण्ट मानबहादुर रोकायाले जानकारी दिए।

खार्पुनाथमा ७२०, ताँजकोट ८३०, नाम्खा ५५०, अदानचुली एक हजार ८० र डाडाफया स्वास्थ्य चौकीमा ३५० खोप पठाइएको उनले बताए। खोपसहित आवश्यक पर्ने सामग्री सबै तयारी पूरा हुनुका साथै आजबाट जिल्लाका बालबालिकालाई मोडर्ना खोप एक साथ दिइने भएको छ।

उत्तरी नाम्खा गाउँपालिकाको वडा ६ लिमीबाहेक अन्य सबै वडामा खोप लगाइने भएको उनले जानकारी दिए। लिमीमा चिसो र हिमपात भएका कारण स्वास्थ्यकर्मी पुग्न नसक्ने भएकाले यहाँका बालबालकालाई न्यानो भएपछि मात्रै खोप लगाइने भएको हो।

जिल्लाको सात गाउँपालिकाका विभिन्न स्थानमा गरी ७८ खोप केन्द्र रहेको कार्यालयले जनाएको छ। जिल्लामा रहेका नौ हजार नौ सय चालीसमा १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई खोप लगाउने लक्ष्य भएपनि जिल्लामा ६ हजार ३ सय ७० डोज मात्रै आइपुगेको उनले बताए। जिल्लासदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका वडा ५ र ६ का सहित बजारका बालबालिकाका लागि खोप लगाइने भएको छ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *