फाइजर खोपको दोस्रो डोज लगाउने आज अन्तिम दिन
काठमाडौं, २ पुस । चार साता अघि कोभिडविरुद्धको खोप फाइजर लगाएका बालबालिकाहरुको दोस्रो डोज लगाउने आज अन्तिम दिन हो । तर धेरै बालबालिका तथा तिनका अभिभावकले दोस्रो डोज लगाउन विर्षेका छन् ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले २८ कात्तिक देखि ७ मंसिरसम्म पहिलो डोज खोप लगाउने दिन तय गर्दा नै दोस्रो डोज २७ मंसिर देखि २ पुससम्म लगाइने भनेर तोकेको थियो । तर धेरै जनाले विर्से जस्तो छ । खोप केन्द्रहरुमा दोस्रो डोज लगाउनेको भिड त्यति देखिदैन् । ‘दोस्रो डोज नलगाएकाहरुले आज गएर लगाउन अनुरोध गर्दछु,’स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले भने ।
काठमाडौँ उपत्यकाका विद्यालयहरुमा १३ देखि २२ गते भित्र फाइजरको पहिलो डोज लगाइदै
यसैबीच कोभिडविरुद्धको खोप अभियान अन्तरगर्त काठमाडौँ उपत्यकामा आगामी १३ देखि २२ पुस भित्र एक साता समय राखेर फाइजर खोप दिइने भएको छ । यो खोप १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै गएर दिने योजना बनाइएको छ ।
‘खासमा २०० जना खोप लगाउने विद्यार्थी भएका विद्यालयमा त्यहि नै खोप केन्द्र राखेर सञ्चालन गर्ने र त्यसभन्दा कम विद्यार्थी भएका विद्यालयका विद्यार्थीलाई नजिकका विद्यालयमा पठाएर खोप लगाउने योजना बन्दैछ,’ काठमाडौंका प्रमुख काफ्लेले भने ।
कोभ्याक्स सुविधा अन्तरगर्त सरकारले आगमी ९ पुसमा ६ लाख २० हजार डोज फाइजर खोप प्राप्त गर्दैछ । सो खोप यसअघि सञ्चालन गरिएका १९ जिल्लाका बालबालिकाहरुलाई दिइने छ ।
यी जिल्ला बाहेकका बाँकी जिल्लाहरुमा १२ देखि १७ बर्ष उमेरका बालबालिकाहरुलाई मोडर्ना खोप दिइदै छ ।
सम्पर्क इमेल : [email protected]