पाँचवटा अस्पतालमा १२० आईसीयू विस्तार गर्न साढे ७३ करोड बजेट प्रस्ताव
काठमाडौँ, ३ चैत । कोरोना भाइरस नियन्त्रणका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको द्रूत सम्भ्यता अध्ययन कार्यदलले ठूला सरकारी अस्पतालमा आईसीयू विस्तार गर्न ७३ करोड ५० लाख बजेट प्रस्ताव गरेको छ ।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलको अध्यक्षतामा गठित कार्यदलले कोरोना फैलिएको खण्डमा ती अस्पतालमा आइसोलेसन वार्ड बनाउन पर्ने भन्दै रकम विनियोजन गर्न प्रस्ताव गरेको हो । उक्त प्रस्तावमा पाँचवटा अस्प्तालमा १२० वटा आईसीयू थपिने उल्लेख छ ।
कार्यदलको प्रस्तावमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४० शय्याको आइसोलेसन वार्ड बनाउन २३ करोड ५० लाख रुपैयाँ प्रस्ताव गरेको छ ।
यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा २० – २० शय्याको आइसोलेसन वार्ड बनाउन १२ करोड ५० लाख दरले ५० करोड रुपैयाँ गरी कुल ७३ करोड ५० लाख बजेट प्रस्ताव गरिएको हो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको फैलिँदो संक्रमणलाई विश्वव्यापी महामारी संज्ञा दिइसकेको छ। नेपालमा भने शुरुमा १ जना बाहेक थप नयाँ कोरोना भाइरसको केश देखिएको छैन् ।
मन्त्रालयले कोरोना महामारीको अवस्थालाई चीन र इटालीको जस्तो दुई रुपमा विश्लेषण गरी आवश्यक तयारी गरिरहेको बताएको छ ।
सम्पर्क इमेल : [email protected]