चिकित्सकको परामर्श शुल्क झण्डै ४० प्रतिशतले बढाउने प्रस्ताव

काठमाडौँ, ३ माघ ।  चिकित्सकहरुको परामर्श शुल्क बढाउने प्रस्ताव गरिएको छ । चिकित्सकहरुको परामर्श शुल्क पुनरावलोकनको सिफारिस गर्न गठित समितिले पाँच बर्ष अघि तोकिएको शुल्क भन्दा करीब करीब ३९ प्रतिशत बृद्धि गरी शुल्क बढाउन प्रस्ताव गरेको हो ।

यद्धपी, यो प्रस्ताव हिजो आजको भने होइन । समितिले करीब ५ महिना अघि नै यो प्रस्ताव तयार गरी मन्त्रालयमा बुझाईसकेको छ । तर सरोकारवालासंगको थप छलफल आवश्यक भएको भन्दै  प्रस्ताव मन्त्रालयमै थन्किएको छ ।

समितिका एक जना सदस्य डा प्रकाश बुढाथोकीले केही महिना अघि नै प्रस्ताव बुझाएपनि विविध कारणले यसको अन्तिम टुंगो लागि नसकेको बताए । यद्धपी यो चाँडै नै कार्यान्वयनमा आउने उनले विश्वास व्यक्त गरे ।

समितिले तयार पारेको प्रस्तावमा एमबीबीएस तथा बीडीएस पास गरेको पाँच बर्ष ननाघेका चिकित्सकको परामर्श शुल्क (कन्सलटेशन फि) ३४७ रुपैयाँ तोकिएको छ । जवकी पाँच बर्ष अघि यो तहका चिकित्सकको शुल्क २५० तोकिएको थियो । यस्तै पाँच बर्ष बढी अनुभव प्राप्त एमबीबीएस तथा बीडीएस चिकित्सकहरुको शुल्क ४१६ रुपैयाँ ५८ पैसा तोकिएको छ । पाँच बर्ष अघि यो तहका चिकित्सकको शुल्क ३०० तोकिएको थियो ।

यस्तै विशेषष एमडीएमएस एमडीएस तह उत्तीर्ण गरेका नयाँ चिकित्सकको शुल्क ६२५ रुपैयाँ तोकिएको छ । पाँच बर्ष अघि यो तहको चिकित्सकलाई ४५० शुल्क तोकिएको थियो । यहि तह उत्तीर्ण गरेका तर पाँच बर्ष बढी अनुभव प्राप्त चिकित्सकलाई परामर्श शुल्क ६६० तोकिएको छ । पाँच बर्ष अघि यो तहको चिकित्सकको शुल्क ४७५ रुपैयाँ तोकिएको थियो ।

यस्तै समितिले यसपटक डीएम एमसीएच गरी पाँच बर्ष कम अनुभव प्राप्त चिकित्सकको शुल्क ७२५ रुपैयाँ तोकेको छ । यस्तै एमडी एमएस एमडीएस गरी १० बर्ष बढी अनुभव प्राप्त चिकित्सकको शुल्क ७७५ रुपैयाँ तोकेको छ ।

सदस्य डा बुढाथोकीका अनुसार प्रस्तावमा यो शुल्कमा नर्सिङ होम तथा अस्पतालले बढीमा २० प्रतिशत र्सिर्भस चार्ज लिन सक्ने समेत प्रस्ताव भएको छ ।

चिकित्सकको परामर्श शुल्क तोक्ने निर्णय तत्कालिन स्वास्थ्य मन्त्री स्वर्गीय डा उपेन्द्र देवकोटाले शुरु गरेका थिए । यद्धपी यसको कार्यान्वयन तत्कालिन स्वास्थ्य मन्त्री खगराज अधिकारीले गरेका थिए । त्यसबेला दुई दुई बर्षमा परामर्श शुल्क पुनारावलोकन हुने भनिएपनि त्यो हुन सकेको थिएन । तोकिएको शुल्कको कार्यान्वयन समेत भएको थिएन । अस्पताल तथा नर्सिङ होमले आफूखुशी चिकित्सकको शुल्क तोक्ने र लिने गर्दै आएका छन् ।

‘सम्भवत अब छिटै शुल्क तोकिनेछ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति योजना महाशाखाका प्रमुख डा विकास देवकोटाले भने । उनले लामो अध्ययन् र राष्ट्र बैंकले तयार गरेको मूल्यबृद्धि तथा मुद्रास्फिती दरलाई हेरेर पछिल्लो प्रस्ताव कायम गरिएको बताए ।

समितिले तयार गरेको शुल्कको प्रस्ताव गत साउनमै सुझावका लागि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाएको थियो । तर त्यहाँबाट सुझाव विना नै फर्काईदिने गरेको छ ।

यस्तो छ परामर्श शुल्क प्रस्ताव

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *