स्थानीयको निशुल्क रक्त समूह परीक्षण गर्दै शैलेश्वरी अस्पताल
डोटी, २७ पुस । निजी क्षेत्रबाट सञ्चालित शैलेश्वरी अस्पतालले स्थानीयवासीको निःशुल्क रगत समूह परीक्षण गर्न शुरुआत गरेको छ ।सिलगढी नगरपालिका–४ पिपल्लामा रहेको यस अस्पतालले रगत अभावलाई अन्त्य गर्न सो अभियानको सञ्चालनमा ल्याइएको जनाएको छ ।
दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासी शनिबार अभियानको शुभारम्भ गर्दै सबैले रक्तदान गर्न अति जरुरी भएको बताईन् । उनले भनिन्, “हामीले दान गरेको रगतले अन्यको ज्यान जोगिन्छ भने खेर जाने रगत किन दान नगर्ने, ज्यान बचाउन भए पनि रक्तदान गनुपर्छ ।”
प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले रक्तदानले सबैभन्दा ठूलो पुण्य प्राप्त हुने भन्दै रक्तदान गर्न पछि हट्न नहुने बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तेजबहादुर डुम्रेलले जिल्लामा रगत अभावका कारण कयौँ बिरामी मृत्यसवरणको दोसाँधमा पुग्ने भएकाले जिल्लामा ब्लड बैंक स्थापना हुनुपर्ने धारणा राखे ।
नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति विजय खड्काले जिल्लामा अनिवार्यरूपमा तत्कालै ब्लड बैंक स्थापना हुनुपर्ने बताए ।
शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले भने, “बिरामीका लागि सबैले रक्तदान गरुन् र बिरामीको ज्यान जोगाउन भन्ने हाम्रो उद्देश्य हो, रक्तदान गर्दा कोही बच्न सक्छ भने दान किन नगर्ने ।”
जिल्ला सदरमुकाम सिलगढीमा तैनाथ रहेको रुद्रध्वज गणले हालसम्म ९७ बिरामीका लागि रक्तदान गरिसकेको निमित्त गणपति सन्तोष ढुङ्गेलले जानकारी दिए ।
जिल्लामा बिरामीलाई रगतको आवश्यक परे नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ३६ नं गणले हालसम्म उपलब्ध गराउँदै आएका छन् । रक्तदान कार्यक्रममा ५० जनाले रगत समूह परीक्षण गरेको अस्पतालले जानकारी दिएको छ । रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



