खोप लगाउँदा मृत्यु भएका चार बालबालिकाको परिवारलाई सरकारले तिर्‍यो ४० लाख क्षतिपूर्ति

डोटी, २८ भदौ । पूर्वीचौकी गाउँपालिका वडा नं ५ (साबिकको काडामाण्डौं गाविस) मा विसं २०६९ सालमा  दादुराविरुद्धको खोप लगाउँदा ज्यान गुमाएका चार बालबालिकाका परिवारले सात बर्ष पछि क्षतिपूर्ति पाएका छन् । त्यसबेला मृत्यु भएका बालिकाहरु मिलन नेपाली, सुजाता नेपाली, गौरी चिराल र अन्जु विकको परिवारले क्षतिपूर्ति पाएका हुन् ।

त्यसबेला यी चार बालबालिकाको खोप लगाए लगत्तै मृत्यु भएको थियो । खोपमा असावधानीका कारण ती बालबालिकाको मृत्यु परिवारले बताउँदै आएका थिए ।

पछि उनीहरुले सरकारले चलाएको खोपकै कारणले आफ्ना सन्तानको मृत्यु भएको भन्दै परिवारले क्षतिपूर्तिको माग गर्दै सर्बोच्चमा मुद्धा दायर गरेका थिए । सर्बोच्चले सोही मुद्धामा फैसला गर्दै खोप लगाएपछि मृत्यु भएका बालबालिकाका परिवारलाई क्षतिपूर्तिस्वरुप जनही रु दश-दश लाख दिन विसं २०७५ असार १४ गते नेपाल सरकारलाई आदेश दिएको थियो ।

अदालतको आदेशपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत पीडित बालबालिकाका अभिभावकको खातामा उक्त रकम जम्मा गराएको हो ।

मन्त्रालयले मदन भण्डारी फाउण्डेशनका अध्यक्ष लक्ष्मण मलासीमार्फत चार जनाको रु दश लाखका दरले रु ४० लाखको चेक जिल्ला प्रशासन कार्यालय डोटीमा पठाएको हो ।

प्राप्त रकम बैङ्क खातामार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताए ।

ढिलै भए पनि सरकारबाट न्याय पाएको आभास भएको विकका बुवा हरिभक्तले बताए । उनले भने, “हामीले धेरै पटक सबैसँग आग्रह ग¥यौँ तर राहत पाउन सकेका थिएनौँ, अहिले पायौँ खुशी छौँ । ” रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *