स्वास्थ्यमा समायोजन : अब पालो आठौँ, नवौँ र दशौँ तहको
काठमाडौँ, १६ असार । एघारौँ तहको समायोजन र पदस्थापन सम्पन्न गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब आठौँ नवौँ र दशौँ तहको समायोजन र पदस्थापनको तयारीमा जुटेको छ । मन्त्रालयले निकै छिटै ती पदहरुको समायोजन सूची सार्वजनिक हुने र पदस्थापन गर्ने बताएको छ ।
‘सामान्य प्रशासन मन्त्रालयबाट आठौँ नवौँ र दशौँ तहको सूची हामीलाई हिजो नै आउने कुरा थियो । तर अन्तिममा रोकियो । केही काम बाँकी रहेको कुरा आयो । सम्भवत आज आउनेछ । र हामीले सूची प्रकाशित गर्छौ । पदस्थापन गरिहाल्छौँ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने ।
पुल दरबन्दीमा अझै अलमल
संघ बाहिर परेका आठौँ नवौँ दशौँ तहका चिकित्सकलाई पुल दरबन्दीमा राखेर व्यवस्थापन गर्ने सहमति गरेपनि सो विषयमा सामान्य प्रशासन मन्त्रालयमा अझै अलमल भएको पाइएको छ । विशेषत सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित चिकित्सकलाई पुल दरबन्दीमा राख्ने पक्षमा देखिएका छैनन् । उनले अहिले पनि सो विषय अघि नबढाएको स्रोतको दावी छ ।
यता मिलिसकेको विषयमा फेरी अफ्टेरो पार्न खोजेको र समायोजनलाई नै पुन प्रभावित गर्न खोजेको भन्दै स्वास्थ्यका अधिकारीहरु पुल दरबन्दीको विषयलाई बाँकी राखि बाँकी संघ अन्तरगर्त रहने कर्मचारीको समायोजन र पदस्थापन गर्ने तयारीमा जुटेका छन् । उनीहरुले सामान्यबाट पनि सोही अनुसारको सूची मागेका हुन् ।
त्यसो त पुल दरबन्दीका विषयमा केही समय अघि भएको सम्झौताबाट सामान्य प्रशासन मन्त्री पण्डित र सचिव यादव कोइराला व्याक हुन थालेपछि स्वास्थ्य अधिकारीहरुले मुख्य सचिव लोकदर्शन रेग्मी र प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष यो मुद्धा पुरयाएका छन् । उनीहरुले उत्तैबाट सहमति ल्याएर समायोजन अघि बढाउने तयारी गरेका छन् ।
सम्पर्क इमेल : [email protected]