पानीजन्य रोगको महामारी फैलन नदिन स्वास्थ्य संस्थालाई पानी जाँच्ने उपकरण प्रदान

नेपालगञ्ज, १५ असार । प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका जिल्लामा वर्षात्को समयमा पानीजन्य रोगको महामारी फैलन नदिन स्थानीय स्वास्थ्य संस्थालाई पानी जाँच गर्ने उपकरण प्रदान गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालगञ्जमा आयोजना गरेको खानेपानी सुरक्षा निगरानीसम्बन्धी कार्यशाला समापनका अवसरमा सो उपकरण सहभागी स्वास्थ्य संस्थालाई उपलब्ध गराएको हो ।
महाशाखाका धनप्रसाद पौडेलले वर्षात्का बेलामा खानेपानीको मुहान दूषित भई पानीका माध्यमबाट फैलन सक्ने महामारीलाई नियन्त्रण गर्न सजिलो होस् भनेर खानेपानीको मुहानसम्म बोकेर लैजान सकिने पानीको अवस्था जाँच गर्ने उपकरण उपलब्ध गराइएको बताए ।
उनका अनुसार पानीमा क्लोरिनको अवशेष, पानीको पिएच टर्बिडिटी (धमिलोपना) र फिकल केलिफम जस्ता विभिन्न चार वटा पारामिटर परीक्षण गर्न सकिनेछ । सो कार्यशालामा विश्व स्वास्थ्य सङ्गठनका डा सुदनराज पन्थी, जनस्वास्थ्य अधिकृत रामबहादुर चन्द, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ल्याव टेक्नोलोजी निरीक्षक भोला अधिकारीलगायतले अनुशिक्षण गरेका थिए । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



