६५ प्रतिशत नर्स लाईसेन्स परीक्षामा फेल
काठमाडौँ, १५ असार । नेपाल नर्सिङ परिषदले शनिबार लिएको २२ औँ नाम दर्ता प्रमाणपत्र परीक्षा (लाईसेन्सिङ एक्जामिनेशन) मा ३५ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । परिषदका अनुसार शनिबारको परीक्षामा स्टाफ नर्स र वीएस्सी नर्सिङ गरी १ हजार ५०१ जना सहभागी थिए ।
तर, उत्तीर्ण संख्या भने ५२६ जना (३५.०४ प्रतिशत) मात्रै छ । परीक्षामा १ जनाको नतिजा रोकिएको (वीथहोल्ड) छ ।
त्यसो यसपटकको परीक्षामा सहभागी हुनका लागि १ हजार ५२८ जनाले फारम भरेका थिए । तर परीक्षाका बेला २७ जना गयल देखिए ।
परिषदका अध्यक्ष प्राध्यापक गोमा निरौलाले लाइसेन्स परीक्षामा अपेक्षा भन्दा निकै कम नतिजा आएको भन्दै चिन्ता व्यक्त गरिन । उनले यसपटकको परीक्षामा यसअघिका परीक्षामा समेत फेल भएकाहरु धेरै सहभागी भएकाले पनि अपेक्षाभन्दा कम पास भएको बताइन ।
नर्सिङ तर्फ पनि स्वदेशमा अध्ययन गरेका भन्दा विदेशमा अध्ययन गरेकाहरु कम पास हुने गरेका छन् ।
यसैबीच परिषदले आइतबार सूचना जारी गरी लाइसेन्स परीक्षा उत्तीर्ण गरेकाहरुलाई आगामी २६ देखि ३० असारसम्म प्रमाणपत्र वितरण गर्ने जनाएको छ ।उसले नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहेमा नतिजा प्रकाशित भएको ३५ दिन भित्र निवेदन दिनसक्ने समेत जनाएको छ ।
शनिबार नै सम्पन्न विशेषज्ञ चिकित्सकहरुको लाइसेन्स परीक्षामा भने ६३ प्रतिशत पास भएका थिए ।
सम्पर्क इमेल : [email protected]