आगामी आर्थिक बर्षका लागि स्वास्थ्यले माग्यो ४० अर्ब, अर्थले कति देला ?
काठमाडौँ, १५ जेठ । संघीय सरकारले आर्थिक बर्ष २०७६ /७७ को लागि आज बजेट प्रस्तुत गर्दैछ । यसपटकको बजेटमा स्वास्थ्य क्षेत्रले कति पाउँछ ? त्यो त अपरान्ह ४ बजेपछि संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले गर्ने सम्वोधन पछि मात्रै थाह हुनेछ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आगामी आर्थिक बर्षका लागि ४० अर्वको बजेट बनाएर अर्थ मन्त्रालयलाई पठाएको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अर्थले स्वास्थ्यका लागि यसपटक ३४ अर्व ४८ करोड सिलिङ तोकेको थियो । तर नयाँ संरचना तथा केही नयाँ कार्यक्रम समेटदै गर्दा बजेट साइज सिलिङ भन्दा केही ठूलो भएको हो ।
स्वास्थ्यले मागेको कुल बजेटमध्ये ६ अर्व स्वास्थ्य बीमा कार्यक्रम शीर्षकमा छुट्याएको छ । त्यस्तै स्वास्थ्य चौकी निर्माण लगायतका पूर्वाधार निर्माणमा अर्को ६ अर्व बजेट राखेको छ ।
यसैगरी ५ वटा विशिष्टीकृत अस्पतालका लागि १ अर्व बजेट माग गरिएको छ । महिलाहरुमा हुने सर्भाकल क्यान्सर परीक्षण कार्यक्रम शुरु गर्न २ करोड ७० लाख बजेट माग गरिएको छ । यी बाहेक अरु दादुरा रुवेला खोप अभियान क्याम्पियन गर्ने, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य अघि बढाउन पनि बजेट माग गरिएको छ ।
‘अहिलेलाई यति भनौँ स्वास्थ्यले ४० अर्वको बजेट माग गरेको छ । कति आउँछ भनेर ठ्याक्कै भन्न सकिएन,’ स्रोतले भन्यो, ‘धेरै नयाँ कार्यक्रम पनि छैन । पूर्ववत कार्यक्रममा सामान्य परिमार्जन भएपनि बजेटको साइज थोरै बढेको हो ।’
संघीय सरकारले गत वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ३४ अर्व ८ करोड रकम छुट्याएको थियो ।
सम्पर्क इमेल : [email protected]