धेरै ‘माननीय ज्यू’हरुमा उच्च रक्तचापको समस्या

376
Shares


काठमाडौँ, २९ बैशाख । प्रतिनिधि सभाका धेरै जसो सांसदहरुमा उच्च रक्तचापको समस्या देखिएको छ । चिकित्सा, नर्सिङ तथा जनस्वास्थ्यका विद्यार्थीहरुको संयुक्त टोलीले  गठन गरेको समूह  रक्तचाप मापन अभियान नेपाल – २०७६  र संघीय संसदको स्वास्थ्य शाखाले आइतबार उनीहरुको उच्च रक्तचाप नाप गरेको थियो ।

महाराजगञ्ज मेडिकल क्याम्पसका विद्यार्थी डा. पवन ज्ञवालीका अनुसार विहान १० देखि ४ बजेसम्म उनीहरुले संसद भवन भित्रै ७२ जना सांसदको रक्तचाप परीक्षण गरेका थिए । सो क्रममा अधिकांशमा उच्च रक्तचापको समस्या भएको पाइएको हो ।

‘हामीले आज प्रतिनिधिसभाका सभामुखको रक्तचाप मापन गरी कार्यक्रमको शुभारम्भ गरेका थियौँ । उहाँमा पहिले देखि नै रक्तचापको समस्या रहेछ । औषधि खानुहुँदो रहेछ,’ डा.  ज्ञवालीले भने, ‘ उहाँ बाहेक अरु धेरै सांसदहरुमा रक्तचापको समस्या भएको पाइयो ।’ उनले धेरै जसोलाई पहिले देखि नै उच्चरक्तचापको समस्या भएको थाह भएको तर केहीमा भने आजै नाप गर्दा रक्तचाप देखिएको बताए ।

उनले सोमबार ( भोलि) राष्ट्रिय सभाका सांसदहरुको पनि रक्तचाप मापन गरिसकेपछि थप विश्लेषण गर्ने योजना रहेको बताए ।

डा ज्ञवालीले रक्तचाप मापनसंगै सांसदहरुलाई खानपानमा ध्यान दिन सुझाव दिएको समेत बताए । ‘उच्चरक्तचापको समस्याबाट बच्न सूर्तिजन्य पदार्थको प्रयोग गर्नुभएन । नुन र गुलियो पदार्थको पनि प्रयोगलाई कम गर्दै जानुपरयो । हामीले सबै सांसदहरुलाई सुझाव पनि दिएका छौँ,’ उनले भने ।

डा. ज्ञवालीले मे महिनालाई रक्तचाप मापन महिनाको रुपमा मनाउने योजना अनुरुप यसपटक चिकित्सा, जनस्वास्थ्य, नर्सिङ लगायतका विषय पढने स्वास्थ्य समूहका विद्यार्थीहरुले संयुक्त रुपमा रक्तचाप मापन अभियान शुरु गरेको बताए । उनले मे महिनाभर संसारका १०० वटा देशमा यो अभियान चलिरहेको सबेत जानकारी दिए ।

डा. ज्ञवालीले यसपटक मे महिना भर १ लाख बढी नेपालीको रक्तचाप मापन गर्ने योजना रहेको सुनाए । उनले अघिल्लो बर्ष अर्थात सन् २०१८मा २२ हजारको मापन गरिएको र त्यो भन्दा अघिल्लो बर्ष अर्थात सन् २०१७ मा ६ हजार जनाको रक्तचाप मापन गरिएको समेत बताए ।

‘यसले दुईवटा कुराको फाइदा हुन्छ । एक त मानिसले आफ्नो स्वास्थ्य अवस्था थाह पाउँछ । अर्को यो जनचेतना बढदै जान्छ । त्यसैले हामी लागि परेका हौँ,’ डा. ज्ञवालीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *