मनमोहन सेन्टरको निर्देशक बने पुन: प्राडा उत्तमकृष्ण श्रेष्ठ
काठमाडौँ, १० बैशाख । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक, भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरको कार्यकारी निर्देशकमा प्राडा उत्तम कृष्ण श्रेष्ठ दोहोरिएका छन् । सोमबार बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको बैठकले सेन्टरको निर्देशकमा डा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यसअघि कार्यकारी परिषदमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डीन कार्यालयबाट सेन्टरमा कार्यकारी नियुक्त गर्न प्राडा श्रेष्ठको नाम सिफारिस भएको थियो ।
‘मेरो चार बर्षे कार्यकाल केही समय अघि नै सकिएको हो । तर अर्को निर्णय नभएसम्मका लागि भन्दै मलाई नै सो जिम्मेवारी गर्नु भन्ने त्रिविबाट आदेश आएको थियो । सोमबार (हिजो) त मलाई कार्यकारी निर्देशकमा पुर्न नियुक्ती गरेको पत्र नै आयो । फेरी चार बर्षको लागि जिम्मेवारी पाएको छु,’ प्राडा श्रेष्ठले भने ।
त्यसो त छोटो समयमा विशिष्ट सेवा दिई छुट्टै पहिचान बनाएको सो सेन्टरको नेतृत्व दोहोरयाउने अवसर पाउने उनी पहिलो व्यक्ति हुन् । ‘म माथि जुन विश्वास गरिएको छ । त्यसलाई पुरा गर्नु अबको मेरो आवश्यकता हो । यहाँका सेवा सहज र सुलभ रुपमा विकेन्द्रित गर्ने योजनामा हामी छौँ । त्यसका लागि प्रदेशस्तरका अस्पतालसंग समन्वय गरी उपचार सेवा विकेन्द्रीत गर्ने योजना बनाउँदैछौँ ।’
मुटु फोक्सो र रगत सम्वन्धी विशिष्ट उपचार हुने मनमोहनमा विरामीको चाप थेगिनसक्नु छ । प्राडा श्रेष्ठले सोमबार देखि नै दोस्रो कार्यकालको जिम्मेवारी सम्हालेका छन् ।
सम्पर्क इमेल : [email protected]