अष्ट्रेलियामा नर्सिङ पढ्न गएका विद्यार्थी बिचल्ली के कारणले ? छानवीन प्रतिवेदनमा यस्तो छ
काठमाडौँ, २७ फागुन । अष्ट्रेलियामा विद्यार्थी पठाउने नेपालका कन्सलटेन्सीको छानवीन गर्न दुई साता अघि गठन गरेको उच्चस्तरीय छानवीन समितिले आज शिक्षा मन्त्री गिरिराजमणि पोखरेल समक्ष प्रतिवेदन बुझाएको छ ।
भर्खरै सचिवमा बढुवा भएकी तत्कालिन सहसचिव देवकुमारी गुरागाईको संयोजकत्वमा गठित छानवीन समितिले प्रतिवेदन बुझाएको हो ।
अस्ट्रेलियाको सिड्नीस्थित अष्ट्रेलिया इन्स्टिच्युट अफ विजनेश एण्ड टेक्नोलोजी कलेज(एआईवीटी) ले सरकारी मान्यता नै नपाएको विवरण सार्वजनिक भएपछि सो कलेजमा अध्ययन गरिरहेका एक हजार बढी विद्यार्थी विचल्ली परेको बताइएको थियो ।
विद्यार्थीहरुले नेपालका कन्सलटेन्सीका कारण पनि आफूहरु ठगिएको बताएका थिए । त्यस लगत्तै शिक्षा मन्त्रालयले कन्सलटेन्सीले गर्ने गतिविधि छानवीन गर्न सहसचिव गुरागाँईको संयोजकत्वमा कमिटि गठन गरेको थियो ।
शिक्षा मन्त्रालय स्रोतका अनुसार समितिलाई यो अवधीमा कुनै पनि विद्यार्थीका अभिभावकले कन्सलटेन्सी विरुद्ध उजुरी दिएनन् । ‘त्यसैले कन्सलटेन्सीले गलत गरे वा गरेनन भन्ने नै थाह हुन सकेन् । कन्सलटेन्सीका बारेमा छानवीन गरेको भनिएपनि गलत गरेको छ कि छैन भन्ने बारेमा प्रतिवेदनले खुट्याउन नै पाएन,’ स्रोतले भन्यो ।
विद्यार्थीले अहिले नेपाली कन्सलटेन्सीलाई दोष दिएका छन् । ‘तर उनीहरुका अभिभावक उजुरी गर्न किन आएनन् ? यसले विद्यार्थीलाई दर्ता हुन बाँकी नै छ भन्ने जान्दा जान्दै आफै पो त्यहाँ गएको हो कि भन्ने पनि शंका गर्न सकिन्छ,’ स्रोतले भन्यो ।
बिचल्लीमा पर्ने २३४ जना मात्रै
एआईबीटीमा नर्सिङ पढ्दै गरेका १ हजार बढी विद्यार्थीको विचल्ली परेको बताइएपनि छानवीन समितिले शिक्षा मन्त्रीलाई बुझाएको प्रतिवेदनमा २३४ जना विद्यार्थीको पढाई मात्रै अफ्टेरोमा परेको उल्लेख छ । र ती विद्यार्थीको उद्धारको लागि मन्त्रालयले समन्वय गरिरहेको बताइएको छ ।
एआईवीटी नर्सिङ पढ्ने तीन बर्षमा ९६५ जना
यसअघि एआईवीटीमा १ हजार २ सय बढी विद्यार्थी रहेको कलेज दर्ता नभएपछि विद्यार्थीको विचल्लीमा परेको उल्लेख थियो ।
तर शिक्षा मन्त्रालयले गठन गरेको छानवीन समितिको प्रतिवेदनमा एआईवीटीमा नर्सिङ पढ्न जाने विद्यार्थीको संख्या तीन बर्षमा ९६५ जना मात्रै रहेको उल्लेख छ । विसं २०७३ मा ४ जना, २०७४ मा ८२८ जना र २०७५ मा हालसम्म १४३ जना एआईवीटीमा नर्सिङ अध्ययनका लागि गएको प्रतिवेदनमा उल्लेख छ ।
एआईवीटीका नेपाली एजेन्ट ४६०, प्रमाणित ७५ र दावी गर्न आउने १५३
शिक्षा मन्त्रालयले गठन गरेको छानवीन समितिले आज मन्त्रीलाई बुझाएको प्रतिवेदनमा एआईवीटीमा नेपाली विद्यार्थी पठाउने एजेन्टको संख्या समेत उल्लेख गरेको छ ।
स्रोत भन्छ, ‘एआईवीटीको वेवसाइटमा ४६० वटा रहेछ, तर भेरिफाइ गर्दा ७५ मात्रै निस्कियो तर १५३ जनाले दावी गर्दै आए । अव आधिकारिक कसलाई भन्ने ?’
सम्पर्क इमेल : [email protected]