पाँचखाल : दर खान प्रयोग गरिएको पानीमा अत्यधिक कोलिफर्म
काठमाडौँ, २९ भदौ । काभ्रेको पाँचखालमा दर खानेक्रममा प्रयोग गरिएको पानी परीक्षण गर्दा अत्यधिक मात्रामा कोलिफर्म पाइएको छ ।
दर पकाउँदा प्रयोग गरिएको पानी टेकुस्थित केन्द्रीय प्रयोगशालामा ल्याएर परीक्षण गर्दा उक्त पानीमा अत्यधिक कोलिफर्म रहेको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयअन्र्तगतको आपतकालीन तथा विपद् व्यवस्थापन इकाइ प्रमुख चुडामणि भण्डारीले खाद्य पदार्थमा कोलिफर्म शुन्य हुनुपर्नेमा १८० प्रतिमिलीलिटरसम्म फेला परेको जानकारी दिए । खाद्यान्न परीक्षणको प्रतिवेदन आउँन बाँकी छ ।
त्यस घटनामा बिरामी भएकाहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तरगर्तको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाईको अगुवाईमा विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । स्थानीय स्वालम्बन सहकारी संस्थाले तीजको अवसरमा आयोजना गरेको दरखाने कार्यक्रममा ५९० जना स्थानीयहरू सहभागी रहेकामा ५४१ जना बिरामी भएका थिए । सहभागीहरूले खाना खाएको पाँच घण्टा पछि बान्ता आउने, पेट दुख्ने, ज्वरो आउने जस्ता लक्षणहरु देखा परेपछि उपचार सुरु गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्मको रक्त परीक्षण प्राप्त विवरणअनुसार एक जनामा सिगेला आउँ देखिएको छ भने खाना, पानी तथा दिशासम्बन्धी परीक्षणको नतिजा अझै आउन सकेको छैन । धुलिखेल अस्पतालबाट प्राप्त विवरणअनुसार ३५ जनामा इन्टामोबेला हिस्टोलाइटिका देखिएको छ ।
राष्ट्रिय प्रयोगशालाका निर्देशक डा. हरिषचन्द्र उप्रेतीले प्रयोग गरिएको पानीका दुई वटा नमूना परीक्षण गर्दा दुवैमा कोलिफर्म १८० देखिएको र इकोली एउटा नमुनामा १८० तथा अर्को नमुनामा ४० देखिएको बताए ।
दरखाने क्रममा बिरामी भएकाहरुलाई धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल, पाटन अस्पताल, बालुवा हेल्थ सेन्टर, पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र, पाँचखाल पोलिक्लिनिक, बनेपा अस्पताल, निजामति अस्पताल मिनभवन, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, वीरेन्द्र अस्पताल, कान्तिबाल अस्पताल र काठमाडाँै शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।
सम्पर्क इमेल : [email protected]