चिकित्सकीय आचरणविपरीत कार्य गर्ने चार चिकित्सकमाथि काउन्सिलको कार्बाही
काठमाडौँ – चिकित्सकीय आचारण विपरीत कार्य गर्ने चार जना चिकित्सक माथि नेपाल मेडिकल काउन्सिलले कार्बाही गरेको छ । त्यसरी कार्बाहीमा पर्ने चिकित्सकहरुमा डा. श्यामप्रसाद साह (काउन्सिल दर्ता नं ३३५०) डा. रञ्जितकुमार सिंह (दर्ता नं ५६८३) डा. देबी गुरुङ (दर्ता नं २८४५) र डा. दिलीपकुमार यादव (दर्ता नं १५६६६) रहेका छन् ।
काउन्सिलको गत ३० पुसमा बसेको बैठकले उजुरीको आधारमा छानवीन गर्दा त्रुटि भेटिएका चिकित्सकहरुलाई कारबाही गर्ने निर्णय गरेको थियो । काउन्सिलले कारबाहीमा परेका चार मध्ये तीन जनालाई सचेत र एक जनालाई ज्यान मुद्दा चलाउन सिफारिस गरेको छ ।
काउन्सिलका अनुसार छानवीनको क्रममा डा. सिंहले मोरङ सुन्दरदुलारी १ बस्ने देब्रे आँखा नदेख्ने रघुनन्दन चौधरीको तथा लेटाङ ४ मोरङ कै देब्रे आँखा नदेख्ने किशोर कार्कीको निरोगिताको प्रमाणपत्र बनाइदिएका थिए ।
अर्का डाक्टर साहले देब्रे खुट्टाको घुडामुनिको भाग पञ्जासम्म सुकेर गएको र सो ठाँउमा प्लास्टिकको कभर जडान गरिएको सपोर्ट राखिएको व्यक्तिलाई निरोगिताको प्रमाणपत्र पेश गरेका थिए । सिफारिस पाउनेहरुले सो प्रमाणपत्र सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि पेश गरेका थिए । दुबै चिकित्सकलाई एक पटकका लागि सचेत गराई छाडन निर्णय गरेको बताएको छ ।
यता काउन्सिलले काठमाडौँ परोपकार प्रसुतिगृहमा कार्यरत डा. देवी गुरुङलाई कार्यालय सममयमा निम्स डायग्नोष्टिक सेन्टर थापाथलीमा गई आउने सेवाग्राहीलाई छोरा बनाइदिन्छु भन्दै सर्वसाधारणलाई ठगि गरेको भन्ने उजुरी परेको थियो ।
तर छावनीनका क्रममा गुरुङले सो आरोप अस्विकार गरेको प्रतिवेदनमा उल्लेख छ । काउन्सिलले सरकारी अस्पतालमा कार्यरत गुरुङले सोही समयमा निजी क्लिनिकमा गई काम गरेको तथा शुल्क रसिदहरु व्यवस्थापन नगरेको भन्ने पाइएको बताएको छ । काउन्सिलले डा. गुरुङलाई समेत एक पटकका लागि सचेत गराउदै आइन्दा लाइसेन्स खारेजी समेत गर्न सक्ने भन्दै चेतावनी दिएको छ ।
उता मेडिकल काउन्सिलको परीक्षामा पटक पटक फेल भएका डा. दिलिप कुमार यादवले झापा चारआलीस्थित बुधबारे मनकामना अस्पतालमा १९ जेठ १०७१ मा १७ बर्षीया कविता लुहागुनको सुत्केरी गराउने क्रममा नवजात शिशुको मृत्यु भएको उजुरी परेको थियो । सोही उजुरीको आधारमा छानवीन गर्दा डा. यादवको त्यतिवेला लाइसेन्स नै नभएको पाइएको काउन्सिलले उल्लेख गरेको छ ।
यतिवेला लाइसेन्स उत्तिर्ण भएका डा यादवलाई काउन्सिलले लाइसेन्स नपाउदै डाक्टरको भेसमा उपचार गरेको र सोही क्रममा एक जनाको ज्यान गएको भन्दै ज्यान मुद्दाका लागि सिफारिस गरेको बताएको छ ।
काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीले उजुरी परेको वा नपरे पनि आचारण विपरीतका काम भएको थाह पाएको खण्डमा तत्काल छानवीन गरि आवश्यक कारबाही अघि बढाउन थालिएको बताए । उनले काउन्सिलले पुराना उजुरी समेत हेरेको भन्दै अनुसन्धानका क्रममा दोशी देखिए लाइसेन्स खारेजी समेत गर्नसकिने बताए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




