शल्यक्रियाका लागि लामो समय कुर्नु नपर्ने

0
Shares

काठमाडौँ, १८ वैशाख । अब समय नपाएका कारण बिरामीले शल्यक्रिया गर्न लामो समय पर्खनु नपर्ने भएको छ ।

ट्रमा सेन्टरले वैशाख ५ गतेबाट ‘विस्तारित अस्पताल सेवा’(इएचएस)अन्तर्गत नियमित समयपछि साँझ ५ देखि बेलुका ९ बजेसम्म शल्यक्रिया गरिरहेको छ ।

नियमित रुपमा दैनिक १२ वटासम्म शल्यक्रिया हुने सेन्टरमा सेवा विस्तार भएपछि थप चारवटासम्म शल्यक्रिया हुने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

विस्तारित सेवा सुरु भएपछि हिजो आइतबारसम्म ३० जनाले शल्यक्रिया गराइसकेका छन् ।

सेन्टरका कर्मचारी अश्विन बरालले नियमित बहिरङ्ग सेवा अर्थात् ओपिडी नै बिहान ९ देखि ५ बजेसम्म भएकाले हाललाई शल्यक्रिया सेवा विस्तार गरिएको जानकारी दिए।

अस्पतालमा दैनिक करिब दुई सय बिरामी ओपिडी सेवामा उपचारका लागि आउँछन् ।

ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा विप्लव सापकोटाले विस्तारित सेवाले बिरामीलाई लामो समय कुरेर शल्यक्रिया गर्नुपर्ने झन्झटबाट मुक्ति दिने बताए ।

उनले भने – ‘‘बिरामीले नियमित शल्यक्रिया शुल्कभन्दा बढी तिरेर छिटो गराउँछु भन्छ भने उनीहरुका लागि सजिलो छ । अस्पतालले नियमित शल्यक्रिया शल्यमा ५० प्रतिशत नबढ्ने गरी मात्र विस्तारित सेवामा शुल्क तोकेको छ । त्यसैले धेरै आर्थिक भार पर्दैन ।’’

विशेषगरी दुर्घटनामा परी आपत्कालीन उपचार गराउनुपर्ने घाइतेको सहज रुपमा उपचार गराउने उद्देश्यले निर्माण गरिएको ट्रमामा आउने धेरै बिरामी हाडसँग सम्बन्धित हुने गर्छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *