सूची सार्वजनिक गर्दै सरकारले भन्यो ‘सात प्रदेशमा ८३८ जना विशेषज्ञ चिकित्सक खटाएका छौँ’

124
Shares

काठमाडौँ, ११ मंसिर । सरकारले यसवर्ष सात प्रदेशमा ८३८ जना विशेषज्ञ चिकित्सक पठाएको बताएको छ । देशभर विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी/ एमएस/एमडीएस उत्तीर्ण गरेका विशेषज्ञ चिकित्सकलाई सात प्रदेशमा खटाएको हो ।

सरकारी छात्रबृत्तिमा एमडी/एमएस तथा एमडीएस पुरा गरेका चिकित्सकले दुई वर्ष सरकारले खटाएको ठाउँमा गएर सेवा दिनु पर्ने व्यवस्था छ ।

मन्त्रालयले सोही प्रावधान अनुरुप एमडी/एमएस र एमडीएस उत्तीर्ण भएका विशेषज्ञ चिकित्सकहरुलाई देशभर खटाएको हो ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार परिचालित ८३८ विशेषज्ञ चिकित्सकमध्ये ६२८ जना एमडी, १६८ जना एमएस र ४२ जना एमडीएस उत्तीर्ण चिकित्सक छन्।

प्रदेशगत रूपमा सबैभन्दा धेरै विशेषज्ञ चिकित्सक बागमती प्रदेशमा खटाइएको छ। बागमतीमा २०८ जना चिकित्सक परिचालन गरिएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ५२ जना खटाइएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

कुन प्रदेशमा कति विशेषज्ञ चिकित्सक ?


मन्त्रालयको विवरणअनुसार कोशी प्रदेशमा १५४, मधेशमा ८६, बागमतीमा २०८, गण्डकीमा १२९, लुम्बिनीमा १३३, कर्णालीमा ५२ र सुदूरपश्चिम प्रदेशमा ७६ जना विशेषज्ञ चिकित्सक खटाइएको छ।
प्रदेशगत विवरण यसप्रकार छ :

  •  कोशी प्रदेश : १५४ जना
  • मधेश प्रदेश : ८६ जना
  • बागमती प्रदेश : २०८ जना
  • गण्डकी प्रदेश : १२९ जना
  • लुम्बिनी प्रदेश : १३३ जना
  • कर्णाली प्रदेश : ५२ जना
  • सुदूरपश्चिम प्रदेश : ७६ जना

यस तथ्यांकअनुसार बागमतीपछि कोशी प्रदेशमा धेरै विशेषज्ञ चिकित्सक परिचालन भएका छन्। त्यसपछि लुम्बिनी, गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेश रहेका छन्।

५११ जना प्रदेशमार्फत, ३२७ जना संघीय अस्पतालमा
कुल ८३८ विशेषज्ञ चिकित्सकमध्ये ५११ जना प्रदेश स्वास्थ्य मन्त्रालयमार्फत परिचालन हुने गरी खटाइएको मन्त्रालयको विवरणमा उल्लेख छ। बाँकी ३२७ जना संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खटिएका छन्।

प्रदेशगत रूपमा प्रदेश स्वास्थ्य मन्त्रालयमार्फत खटाइएका र संघीय अस्पताल तथा प्रतिष्ठानमा रहेका चिकित्सकको विवरण यस्तो छ :

प्रदेश स्वास्थ्य मन्त्रालयमा खटिएका चिकित्सकलाई सम्बन्धित प्रदेश सरकारले आफ्नो आवश्यकता, प्राथमिकता र कार्यक्षेत्रअनुसार स्थानीय तहका स्वास्थ्य संस्था तथा अस्पतालमा परिचालन गर्न सक्ने व्यवस्था रहेको छ। यसले प्रदेशका दुर्गम तथा ग्रामीण क्षेत्रसम्म विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने सम्भावना बढाएको छ।
कुन-कुन विशेषज्ञ सेवामा जनशक्ति परिचालन ?
मन्त्रालयले सार्वजनिक गरेको विवरणमा विभिन्न विशेषज्ञताका चिकित्सक परिचालन गरिएको उल्लेख छ। यसमा एनेस्थेसिया, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, हाडजोर्नी, मेडिसिन, जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन, आँखा, बालरोग, दन्त तथा मानसिक रोगलगायतका क्षेत्र समेटिएका छन्।

सार्वजनिक विवरणमा उल्लेखित विशेषज्ञतागत संख्या यसप्रकार छ :

  • एनेस्थेसिया : ८८ जना
  • स्त्री तथा प्रसूति रोग : ८९ जना
  • जनरल सर्जरी : ७२ जना
  • हाडजोर्नी : ७० जना
  • मेडिसिन : ६७ जना
  • जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन : ६२ जना
  • आँखा : ६२ जना
  • बालरोग : ६० जना
  • दन्त : ५२ जना
  • मानसिक रोग : ३२ जना
  • अन्य: १२२ जना
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *