अमेरिकाको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली प्याथोलोजिस्ट डा. प्रवेश दाहाल सम्मानित

0
Shares

काठमाडौँ, २९ कात्तिक ।  अन्तर्राष्ट्रिय चिकित्सा जगतमा नेपाली चिकित्सकको उपलब्धिको सूचीमा अर्को उपलब्धि थपिएको छ।

नेपालका कन्सल्टेन्ट प्याथोलोजिस्ट डा. प्रवेश दाहालले अमेरिकामा आयोजित विश्वस्तरीय मोलिक्युलर प्याथोलोजी सम्मेलनमा ‘इन्टरनेसनल ट्रेनी ट्राभल अवार्ड’ प्राप्त गरेका छन्।

एसोसिएसन फर मोलिक्युलर प्याथोलोजी (एएमपी) द्वारा आयोजित वार्षिक सम्मेलनमा डा. दाहाललाई अन्तर्राष्ट्रिय प्रशिक्षार्थी ट्राभल अवार्ड प्रदान गरिएको हो।

नोभेम्बर १० देखि १४ सम्म अमेरिकाको सियाटलमा सञ्चालन भएको उक्त सम्मेलनमा विभिन्न देशका चिकित्सक, वैज्ञानिक, अनुसन्धानकर्ता तथा मोलिक्युलर डायग्नोस्टिक्सका विशेषज्ञहरूको सहभागिता रहेको थियो।

मोलिक्युलर प्याथोलोजी आधुनिक चिकित्सा विज्ञानको महत्वपूर्ण विधा हो, जसले रोगको आणविक तथा आनुवंशिक आधार पहिचान गरी विशेषगरी क्यान्सरको सही निदान र उपचारको दिशा निर्धारण गर्न सहयोग पुर्‍याउँछ। विश्वभर यस क्षेत्रमा नयाँ अनुसन्धान र प्रविधिको विकास भइरहेका बेला नेपाली चिकित्सकको यस्तो अन्तर्राष्ट्रिय सहभागिता अर्थपूर्ण मानिएको छ।

डा. दाहाल हाल काठमाडौंस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा कन्सल्टेन्ट प्याथोलोजिस्टका रूपमा कार्यरत छन्। उनले प्याथोलोजी सेवासँगै प्रयोगशालाको गुणस्तर व्यवस्थापन, आधुनिक निदान प्रणाली तथा मोलिक्युलर प्याथोलोजीको विकासमा विशेष चासो राख्दै आएका छन्।

उनले यस सम्मानबाट व्यक्तिगत उपलब्धिमा मात्र सीमित नरही अन्तर्राष्ट्रिय स्तरमा आर्जित ज्ञान, प्रविधि र अनुभवलाई नेपालको चिकित्सा क्षेत्रमा हस्तान्तरण गर्दै आधुनिक निदान सेवाको विकासमा योगदान हुने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *