जलवायु परिवर्तनसम्बन्धी नीति निर्माणमा स्वास्थ्यलाई केन्द्रमा राख्न मन्त्री मेहताको जोड

0
Shares

काठमाडौं, २३ कात्तिक । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पारिरहेको प्रभाव र यसबाट उत्पन्न चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउन आग्रह गरेकी छन्।

टर्कीको अन्टाल्यामा आजदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी हुन पुगेकी मन्त्री मेहताले नेपाली युवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसँगको भेटमा जलवायु परिवर्तनसम्बन्धी छलफल र पैरवीमा स्वास्थ्यका विषयलाई केन्द्रमा राख्न आग्रह गरेकी हुन्।

उनले विशेषगरी हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम र त्यसले जनस्वास्थ्यमा पार्ने प्रभावलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्राथमिकताका साथ उठाउनुपर्ने बताइन्।

सम्मेलनका विभिन्न सत्र, छलफल तथा संवादमा सहभागी हुँदा सम्भव भएसम्म स्वास्थ्यका सवालमा सक्रिय रूपमा पैरवी गर्न पनि उनले नेपाली प्रतिनिधिहरूलाई आग्रह गरिन्।

जलवायु परिवर्तन वातावरणको विषयमा मात्र सीमित नरही मानव जीवन र जनस्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गर्दै मन्त्री मेहताले यससम्बन्धी हरेक नीति, छलफल र निर्णय प्रक्रियामा स्वास्थ्यलाई प्राथमिकताका साथ समेट्नुपर्नेमा जोड दिइन्।

जलवायु परिवर्तनका कारण विशेषगरी हिमाली क्षेत्रमा देखिने जोखिमले जनस्वास्थ्यमा पार्ने असरबारे अन्तर्राष्ट्रिय तहमा पर्याप्त ध्यानाकर्षण गराउन आवश्यक रहेको उनको भनाइ छ।

कोप–३१ मा सहभागी हुन मन्त्री मेहता र परराष्ट्रमन्त्री शिशिर खनालसहितको नेपाली टोली शनिबार टर्कीतर्फ प्रस्थान गरेको थियो। आजदेखि सुरु भएको सम्मेलन आगामी नोभेम्बर २० तारिखसम्म सञ्चालन हुनेछ।

यद्यपि, मन्त्री मेहता भने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को बैठकमा सहभागी हुन भोलि श्रीलंकातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *