काभ्रेपलाञ्चोकमा २ महिनामा ४१ जनामा डेंगु संक्रमण पुष्टि

काठमाडौँ, १२ असोज । काभ्रेपलाञ्चोकमा पछिल्लो दुई महिनामा ४१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार गत साउन १ गतेदेखि यही असोज १२ गतेसम्मको अवधिमा जिल्लाभर ४१ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये २० पुरुष र २१ महिला रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा भने जिल्लाका कुनै पनि पालिकामा डेङ्गुका नयाँ बिरामी नथपिएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवं सूचना अधिकारी शिशिर पुडासैनीले बताए ।
कार्यालयको तथ्याङ्कअनुसार जिल्लाका १३ स्थानीय तहमध्ये चार पालिकामा मात्रै डेङ्गु सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी पाँचखाल नगरपालिकामा २१ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ११ पुरुष र १० महिला छन् ।
सूचना अधिकारी पुडासैनीका अनुसार बनेपा नगरपालिकामा १३ जना (६ पुरुष र सात महिला), मण्डनदेउपुर नगरपालिकामा छ जना (दुई पुरुष र चार महिला) तथा नमोबुद्ध नगरपालिकामा एक पुरुषमा डेङ्गु सङ्क्रमण देखिएको छ ।
धुलिखेल र पनौती नगरपालिकासहित जिल्लाका अन्य ९ स्थानीय तहमा भने हालसम्म डेङ्गुको कुनै पनि सङ्क्रमित दर्ता नभएको कार्यालयले जनाएको छ ।
सूचना अधिकारी पुडासैनीका अनुसार पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमित नथपिए पनि मनसुनी जोखिम अझै कायम रहेकाले सतर्कता अपनाउन आवश्यक छ ।
उनले घरवरपर पानी जम्न नदिन, लामखुट्टेको बासस्थान नष्ट गर्न ‘खोजी र नष्ट गर’ अभियान सञ्चालन गर्न तथा व्यक्तिगत सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेका छन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



