टाइम फर्मास्युटिकल्सले विभागलाई भन्यो: ‘ग्लिपिड-१’ गुणस्तरहीन छैन, रिकल गर्नु पर्दैन

काठमाडौँ, ७ असोज । नेपाली औषधी उत्पादक कम्पनी टाइम फर्मास्युटिकल्सले व्याच नं GM-070 को GLIPID-1 नामक औषधी गुणस्तरहीन नभएको बताएको छ ।
औषधी व्यवस्था विभागले बजार अनुगमनका क्रममा ल्याइएको GLIPID-1 को स्याम्पल पीसको गुणस्तर एकीन गर्दा डिजोलुसन टेष्ट फेल भएको भन्दै १ असोजमा सूचना जारी गर्दै बजारबाट फिर्ता (रिकल) गर्न कम्पनीलाई निर्देशन दिएको थियो ।
टाइम फर्मास्युटिकल्सले भने विभागको पत्र पछि आफूहरुले पुन आफ्नो क्वालिटी एसुरेन्स शाखामा रहेको कन्ट्रोल स्याम्पललाई पुन: प्रयोगशाला जाँच गर्दा समेत उक्त औषधीमा हुनु पर्ने गुणस्तर कायम रहेको जनाएको छ । कम्पनीले उक्त औषधीको प्रडक्ट स्पेसिफिकेसन विभागमा यसअघि नै पेश गरिएको बताएको छ ।
रिकल गर्न विभागले काटेको पत्रको जवाफ दिदै कम्पनीका अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले आफूकहाँ गुणस्तरीय औषधी उत्पादन भए पनि थोक तथा खुद्रा विक्रेता साथै जिल्ला अस्पताल तथा हेल्थपोष्टका औषधी भण्डारण कक्ष मापदण्ड अनुसार नभएको हुन सक्ने उल्लेख छ ।
उनले विभाग नेतृत्वलाई औषधी भण्डारणलाई अलि व्यवस्थित गर्न र मापदण्ड अनुसार राख्ने व्यवस्था मिलाउनका लागि परिपत्र गर्न समेत विभागको ध्यानाकर्षण गराएका छन् । उनले विभाग नेतृत्वसंग औषधी रिकल गर्ने निर्णय र सर्वसाधारणको लागि सूचना प्रवाह गर्नु अघि उत्पादन गर्ने कम्पनीलाई प्रष्टिकरणको मौका दिने व्यवस्था मिलाउन समेत अनुरोध गरेका छन् ।
टाइमले गत १ असोजमा प्रकाशित सूचनामा रिकल गर्ने निर्णय सार्वजनिक भएकोमा अब सो निर्णय बदर गर्ने निर्णय गरी त्यसको जानकारी सर्वसाधारणले थाहा पाउने गरी प्रवाह गर्न समेत भनेको छ । टाइमले रिकलको लागि आएको व्याचको औषधीमा आफूले जाँच गर्दा गुणस्तर पास भएको सम्पूर्ण विवरण पनि विभागलाई उपलव्ध गराएको उल्लेख गरेको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



