डा. सन्दीप राज पाण्डेय : हिरो बन्ने सपना त्यागेर बनेका प्रख्यात भास्कुलर सर्जन

132
Shares

त्यसबेला उनलाई फिल्मको हिरो बन्न मन लागेको थियो, उत्तिकै रहर थियो पाइलट बन्ने भन्ने । तर बुबाको चाहना भने छोरालाई राम्रो डाक्टर बनाउने । आखिर बुबाकै चाहनाले जित्यो । ‘म डाक्टर बनेँ,’ आईएस्सी पढ्दा ताकाको आफ्नो विगतलाई सम्झिँदै उनले भने ।

उनी अर्थात डा. सन्दीपराज पाण्डेय । अहिलेका ‘रिनाउन्ड’ भास्कुलर/ इन्डो भास्कुलर सर्जन ।

उमेरले चार दशक लाग्दै गर्दा डा.  पाण्डेयको ख्याति देश भित्र भन्दा बढी देश बाहिर जस्तो देखिन्छ । ‘अहिलेसम्म ५५ देशमा आफ्नो प्रस्तुति र कार्यक्रमको पर्यवेक्षकको रुपमा पुगेको छु । ट्रान्जिटमा टेकेको देश समेत गणना गर्ने हो भने त ८०/ ९० पुग्यो होला,’ सुरुमै सोधिएको बैदेशिक यात्राबारे उनी भन्छन् ।

हुन पनि उनी सबैभन्दा बढी देशमा जाने युवा डाक्टरहरुमध्ये एक पर्दछन् ।

डा. पाण्डेयलाई पछिल्लो समय भास्कुलर सम्वन्धी कन्फरेन्स, मिटिङ, सीएमई जस्ता कार्यक्रममा सहभागिताका लागि आमन्त्रण हुने गरेको छ । केही अघि उनी अध्ययन्, फेलोसिपका लागि विदेश उड्थे ।

त्यसो त उनी जति विदेश गएका छन्, लगभग त्यति नै देशका सहकर्मी चिकित्सकहरुलाई नेपाल ल्याएका पनि छन् ।

दुई वर्ष अघि उनकै अगुवाईमा भएको ‘हिमालय इन्टरनेशनल भास्कुलर समिट (हिमभास)- २०२४’ नेपालकै ठूलो अन्तराष्ट्रिय सम्मेलनको रुपमा दर्ज भयो ।

त्यसबेला उनले ४२ देशका चिकित्सकहरुलाई नेपाल भित्र्याए, आउँदो वर्ष हिमभासको दोस्रो संस्करण गर्दैछन् । त्यसमा अघिल्लो भन्दा दोब्बर बढी देशबाट चिकित्सक ल्याउने उनको तयारी छ ।

‘बाहिर जानु मात्रै त ठूलो कुरा होईन, विदेशीलाई नेपाल ल्याउनु त्यो पनि ठूलो संख्यामा यो ठूलो कुरा हो । त्यसबेला ४२ देशका २०० बढी चिकित्सक नेपाल आएका थिए । यसले नेपालको चिकित्सा सेवाको बारेमा उनीहरुलाई बताउन र देखाउन त पाईयो नै नेपाल चिनाउन अझ् पर्यटन र व्यापार बढाउन पनि धेरै नै महत्व हुन्छ जस्तो लाग्छ,’ उनले खुशीका साथ भने, ‘आउँदो वर्ष झन् ठूलो सहभागिता हुनेछ ।’

……………………………………………..

अहिले काठमाडौँको नर्भिक इन्टरनेशनल हस्पिटल र अन्नपूर्ण न्युरो अस्पतालमा सेवा दिई रहेका डा. पाण्डेयको जन्म महोत्तरीको जलेश्वरमा आज भन्दा ४३ वर्ष अघि भएको हो । बाबा नेपाल बायुसेवा निगमको एयर ट्राफिक कन्ट्रोलमा जागिरे हुँदा उनलाई पाइलट बन्न मन लागेको थियो ।

तराईमा चल्ने नेपाली र हिन्दी सिनेमाले उनलाई किशोर अवस्था लाग्दै गर्दा सिनेमाको हिरो बन्ने रहर पलाएको थियो ।

‘मलाई किन हो किन, जीवनमा चर्चित हुनुपर्छ भन्ने लाग्दथ्यो । पाइलट बने सान बढ्छ र हिरो भएपछि त झन् सबैले चिन्छन् भन्ने लाग्यो । तर दुबै कुरामा लाग्न बाबाले मान्नु भएन । पाइलट कोर्ष गर्छु भन्दा बाबाले हुँदैन नै भन्नु भयो,  सिनेमा तिर लाग्छु हिरो बन्छु भन्दा, तिमी ऐनामा आफ्नो अनुहार हेरेका छौँ ? भन्नु भयो, त्यस पछि म केही बोल्नै सकिन,’ बुबाले त्यसबेला आफूलाई भनेको कुरा स्मरण गर्दै फिस्स हास्दै सुनाए ।
…………………………………………………………….

‘बाबा जागिरको सिलसिलामा विभिन्न जिल्लामा जानु हुन्थ्यो । तर हामी संगसंगै गएनौँ । पारिवारिक कारणले जाने अवस्था पनि बनेन । त्यसैले हामीलाई अध्ययनका लागि सानोमा गाउँकै सरकारी स्कुलमा भर्ना गरिदिनु भएको थियो । तर पछि के लागेछ, हामी छोराछोरीलाई बुवाले जनकपुर लैजानु भयो । सुरु देखि कक्षा ७ सम्म न्यु अंग्रेजी बोर्डिङ स्कुल जनकपुरमा पढेँ । त्यसपछि एसएलसी सम्म भोलासिंह बोर्डिङ स्कुलमा गएँ । त्यहाँबाट ८० प्रतिशत अंकका साथ एसएलसी पास गरेँ,’ स्कुले जीवनबारे उनले भने ।

एसएलसीमा राम्रो नम्बर ल्याएका उनलाई त्यसपछि थप अध्ययन्का लागि काठमाडौँ आउन मन लाग्यो ।

घरमा कुरा भयो ।

‘यहाँ त्यसबेला चलेका सेन्टजेभियर, भिएस निकेतन लगायतका स्कुलमा पढ्ने भन्ने पनि कुरा भयो, त्यसका लागि बुबाले लिएर काठमाडौँ आउनु पनि भयो तर पछि के के कुरा मिलेन र म जनकपुर नै फर्किएँ । त्यहाँको विज्ञान अध्ययन् केन्द्रबाट विज्ञान विषयबाट प्लस टू  गरेँ,’ उच्च शिक्षाको सुरुवात उनले सम्झिए ।

डा. पाण्डेय अगाडी थप्छन्, प्लस टू पढ्नु अघि नै मेरा ती रहरहरु (पाइलट र हिरो बन्ने)मा फुलिस्टप लागिसकेको थियो । डाक्टर बन्ने योजना बनिसकेको थियो । त्यसैले प्लटू मै मैले बायोलोजी लिएर पढेको थिएँ ।  प्लस टू को नतिजा आउनासाथ म काठमाडौँ आएँ एमबीबीएस तयारीका लागि नेम इन्स्टिच्युटमा भर्ना भएँ ।’

त्यसबेला विश्वविद्यालय, कलेज, प्रतिष्ठानहरुले छुट्टा छुट्टै प्रवेश परीक्षा लिने गर्दथ्यो । डा. पाण्डेयले पनि त्रिभुवन विश्वविद्यालय आईओएम, काठमाडौँ विश्वविद्यालय लगायतका धेरै शिक्षण संस्थामा परीक्षा दिए ।

‘केयुमा त नाम निस्किएर सेलेक्सनमा पनि परेको थिएँ । तर पैसा अलि बढी तिर्नु पर्ने भयो भनेर भर्ना हुन सकिएन,’ उनले एमबीबीएस पढ्ने बेलामा भएको संघर्ष सुनाए ।

डा. पाण्डेय र उनको परिवारलाई ठिक त्यसैबेला नेपालमा भन्दा सस्तो शुल्कमा चीनमा पढाइहुन्छ भन्ने बताइदियो ।

त्यसपछि सामान्य घरसल्लाहमा चीन तिर लागे ।

शीआन जियाओथोङ (Xi’an Jiaotong University)   मेडिकल युनिभर्सिटी, जहाँ नेपाल लगायतका विश्वका धेरै देशका विद्यार्थीहरु एमबीबीएसका लागि आउने गर्दथे ।

उनी त्यहाँ भर्ना भए ।

‘सन् २००१-  २००२ तिरको कुरा हो । अहिले नेपालमा नाम कमाएका धेरै चिकित्सकहरु त्यस कलेजमा अध्ययन गर्नु भएको हो,’ उनले त्यो बेला सम्झें ।

डा.  पाण्डेयले सो युनिभर्सिटीमा एमबीबीएस पढ्दा टप गरेको सुनाउँछन् । ‘त्यसपछि मलाई माथिल्लो तहको अध्ययनका लागि पैसो तिर्न परेन । चाइनीज स्कलरसीप काउन्सिलले पूर्ण छात्रबृत्ति दियो ।त्यहि विश्वविद्यालयबाट कार्डियो भास्कुलर सर्जरीमा एमएस गरेँ । त्यसबेला उता पढ्ने यता इन्टर्नशीप गर्न पाइन्थ्यो । म नेपाल आएँ इन्टर्नशीप गरेँ । लाइसेन्स समेत लिएँ’ डा. पाण्डेयले आफ्नो मेडिकल शिक्षाको अध्ययनबारेमा बताए ।

त्यसो त उनी एमबीबीएस पछि पनि इन्टर्नशीप गर्न नेपाल फर्केका थिए । वीर अस्पतालमा उनले इन्टर्नशीप गर्दा हालका प्राडा पियुस दाहालले सन्दिप तिमी अब भास्कुलर विषय पढ है । यसको स्कोप राम्रो छ’ भनेर सुझाव दिएको कहिल्यै बिर्सन्नन् । ‘उहाँले विषय उठान गरिदिनु भयो, मलाई पनि त्यो राम्रो लाग्यो र त्यहि विषय रोजेँ,’ उनले भने ।

एमएस गरेर फर्केपछि उनी पहिलो जागिरेको रुपमा नेपाल मेडिकल कलेज जोरपाटीमा लेक्चररको रुपमा आवद्ध भएका थिए । त्यहाँ डाक्टर प्रेमराज वैद्यसंग केही महिना काम गर्ने वित्तिकै इन्डो भास्कुलको फेलोसिप पाए । त्यसपछि उनी भारत तर्फ हान्निए । ‘करीव २ वर्ष  दिल्लीस्थित मेदान्ता हस्पिटलमा गएर सिकेँ । त्यसपछिका केही वर्ष त्यहि काम पनि गरेँ । फेरी नेपाल आएँ र नेपाल मेडिकल काउन्सिलमा भास्कुलर र इन्डो भास्कुलरको रुपमा मैले दर्ता पाएँ र काम सुरु गरेँ,’उनले आफ्नो अध्ययन् अध्यापन यात्रा सुनाए ।

देशमा रहेका थोरै विज्ञहरु मध्येका एक डा. पाण्डेय आफ्नो सफलतालाई मेहनत र भाग्यको संगम हो भन्न रुचाउँछन् ।

‘मेरो जीवन यो अवस्थामा आईपुग्नुमा मेहनत र भाग्य दुबै हो भन्छु । चीनमा एमबीबीएस र एमएस गरें । भारतमा फेलोसिप गरेँ । यसले मलाई नेटवर्क विस्तारमा निकै ठूलो सहयोग भयो । काम गर्दाका दौरानमा मैले अन्तराष्ट्रिय मञ्चमा धेरै पेपरहरु पठाउने गरेको थिएँ । यसले मेरो पहिचानलाई ग्लोवल रुपमा फैलाउन मद्दत गरयो जस्तो लाग्छ,’ उनले मेहनत र भाग्यको संगमबारेमा बताए ।

सन् २०१२-१३ तिर भारतमा काम गर्दा ताका साथीहरुले गल्फ कन्ट्री, युरोप अमेरिकामा चिकित्सकले पाउने सुविधाले लोभ्याउने प्रयास गरेका थिए । ‘महिनाको ८ देखि १० लाख तलव हुन्छ भनेका थिए । तर उनलाई किन हो कुन्नी विदेश गएर काम गर्न रुची भएन । नेपाल नै फर्किएँ । त्यसबेला मेरो तलव ३०- ३५ हजारको आसपासमा थियो होला,’ उनले भने ।

डा. पाण्डेयको अर्को गज्जबको रुची थियो । सेवा देशकै गर्ने, नेपालीकै गर्ने, तर घुम्न भने संसार नै भ्याउने गरी घुम्नु पर्छ भन्ने मेरो व्यक्तिगत नीति हो । हाँस्दै उनले अगाडी थपे, ‘मेरो अहिलेको विदेश घुमाई यहि नीति अन्तर्गत नै परे जस्तो लाग्छ ।’

उनले विदेशमा मात्रै पैसा कमिन्छ भन्ने पक्षमा पनि आफू नरहेको स्पष्ट पारे ।

‘आफ्नो दक्षतालाई तिखार्दै लैजान सकेमा स्वदेशमै पैसा कमिन्छ भन्नेमा सुरु देखिकै भरोशा हो,’ उनले अगाडी थपे,  ‘त्यसैलाई आत्मसात गर्दै अघि बढेँ । आजको दिनमा म कहाँ बिरामीको लाइन लागेको छ । सेवा भएको छ।’

भास्कुलरका सेलिब्रेटि डाक्टर पाण्डेय आफूसंग बिरामी लाइन लाग्नुमा आफ्नो पेशाप्रतिको इमान्दारिता र लगन, विज्ञता र नियमितता भएको ठान्छन् । त्यसैले उनले आफ्नो सेवालाई अलिकति पनि तलमाथि हुन दिदैनन् । त्यसका लागि आफूले निजी स्रोतबाट दुई जना मेडिकल अफिसर समेत राखेका छन् । ‘म आफै तलव दिन्छु, दुई जनाले मेरो काममा असिस्ट गर्नुहुन्छ । सर्जरीमा पनि यस्तै टिम बनाएको छु,’ उनले भने ।

पछिल्लो १२ वर्षको डा पाण्डेयले करीव २५ हजार बढी सर्जरी गरेको दावी गरे । उनले त्यसमध्ये करीब ९५ प्रतिशतको भेरीकोज भेनको सर्जरी भएको सुनाए ।

उनले आफ्नो अध्ययन र काममा सधै प्रेरणा दिने नेपालका केही बरिष्ठ चिकित्सकको नाम लिन कहिल्यै छुटाउँदैनन् । प्राडा बसन्त पन्त, प्राडा भगवान कोइराला, प्राडा जगदीश अग्रवाल उनका प्रेरणाको स्रोत हुन् । यस्तै डा जेपी जयसवाल, डा भरत रावत, डा प्रविन नेपाल, डा तरुण ग्रोभर, डा श्रीराम नारायनन्, भीएस वेदी, फ्रांक भीथ पनि उनका हौसला र उत्प्रेरणाका साथीहरु हुन् । यसैगरी इन्डोभास्कुलर टिमका डा सतिश, डा निपुन, डा मयंक, डा रजत डा सृष्टि र डा सोनाली पनि आफ्नो जीवनका सहहृदयी साथीहरु भएको बताए ।

………………………………………….

धेरैलाई थाहा नहुन सक्छ डा. पाण्डेय भास्कुलर सर्जरीमा अन्तराष्ट्रिय रुपमा नै ख्याति कमाएका चिकित्सक हुन् । त्यसैले उनीसंग सेवा लिनका लागि नेपालका मात्रै होइन विदेशी नागरिककहरु समेत लालयित छन् ।

‘भारत, बंगलादेशबाट मात्रै होइन, युरोप, अफ्रिका र अमेरिकी महादेशमा पर्ने विभिन्न देशका नागरिकहरु सर्जरीका लागि आउनु भएको छ ।  नेपाली मुलका विदेशी मात्रै होइन, विदेशी मुलका विदेशी नै आउने गरेका छन् । म जहाँ जान्छु, आफूले दिने सेवा र देशमा उपलव्ध सेवाको बारेमा प्रचार गर्दछु । अनि मेरा विदेशी सहकर्मीहरुले कतिपय बिरामी म कहाँ रिफर गरिदिनु भएको छ । अनि ती विदेशी विरामीले फर्केर गएपछि अर्को व्यक्तिलाई पठाउँछ । यसरी मेरो अन्तराष्ट्रिय क्षेत्रमा पनि मार्केटिङ भइरहेको छ,’ उनले गर्वका साथ भने ।

डा. पाण्डेयले विदेशीहरु आफूकहाँ उपचारका लागि आउनुको कारण गुणस्तरीय तर सस्तोमा उपचार भएको बताउँछन् । यस्तै विशेषज्ञसंग छिटै पालो पाइने कारणले पनि विदेशीहरु विस्तारै आउन थालेको उनको बुझाई छ ।

नेपालको सेवालाई अझ प्रचार गर्न सके, मेडिकल भिसा उपलव्ध गराउन सके नेपालमा धेरै विदेशीहरु उपचारका लागि आउने र त्यसले पर्यटन तथा देशको अर्थतन्त्रलाई समेत मजबुत बनाउन सहयोग गर्ने उनी बताउँछन् ।
…………………………………………………

डा. पाण्डेय आफूले पाएको यो सफलताको श्रेय परिवारलाई त दिन्छन् नै त्यसमा पनि मुख्य रुपमा श्रीमतीलाई जाने बताउँछन् । ‘उहाँ (श्रीमती) मेरो ब्याकबोन नै हो । प्राविधिक धारमा नगए पनि उहाँ ग्राजुएट्स हुनु हुन्छ । जुन सुकै जागिर खान सक्नु हुन्थ्यो । तर मलाई पूर्ण रुपमा सहयोग गर्न भन्दै उहाँले आफ्नो व्यक्तिगत ईच्छा चाहनालाई रोक्नु भयो । विसुद्ध गृहणीको भूमिकामा रहनु भयो । दुई छोरीहरु छन्, श्रीमती जी ले नै उनीहरुको पुरा रेखदेखमा खटिनु भएको छ । यसले मलाई फ्रि भएर काम गर्न मिलेको छ,’ श्रीमतीको भूमिकाको प्रशंसा गर्दै उनले भने ।

 

  • प्रस्तुति: रामप्रसाद न्यौपाने
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *