नेपाल मेडिकल काउन्सिलद्धारा एक जना चिकित्सकको नाम दर्ता (लाइसेन्स) खारेज

2.1k
Shares

काठमाडौँ, ३ बैशाख । नेपाल मेडिकल काउन्सिलले एक जना चिकित्सकको नाम दर्ता (लाइसेन्स) खारेज गरेको छ।

काउन्सिलको गत ६ चैतमा बसेको दर्ता समितिको बैठकको निर्णय अनुसार डा. तुषार सरबजना (नेमेका दर्ता नं. ३५१४२) को अस्थायी दर्ता (एमबीबीएस) र विशेषज्ञ (एमडी अप्थाल्मोलोजिष्ट) दर्ता खारेज गरेको हो ।

सरवजनाले भारतीय नागरिकको कोटामा नेपालबाटै अध्ययन पुरा गरेर पछि नेपाली नागरिकता पेश गरेका थिए । उनको अहिले पनि भारतीय मेडिकल काउन्सिलमा चिकित्सक दर्ता नम्बर कायम छ ।

काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देव भन्छन्, ‘सरबजनाले स्थायी दर्ताका लागि आवेदन दिँदा पेश गरिएका कागजातहरू हेर्दा उनीसंग भारतको पासपोर्ट तथा नेपाली नागरिकता (वंशज) दुवै देखिएको थियो । उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फरेन नेशनल फुल ट्युसन फि अन्तर्गत भारतीय बनेर पढेको थिए । तर गृह मन्त्रालयले काउसिन्ललाई पठाएको पत्रमा उनले २०७८ असोज २८ मा जिल्ला प्रशासन कार्यालयबाट नेपाली (बंशज)को नागरिकता प्राप्त गरेको उल्लेख थियो । उता भारतको नेशनल मेडिकल काउन्सिलको वेवसाइटमा उनी भारतीय चिकित्सकहरुको रुपमा दर्ता भएको देखिएको छ । यो दुबै तिरको विवरण हेर्दा उनी भारतीय भएको र विदेशी चिकित्सकलाई स्थायी दर्ता गर्न नमिल्ने भएकोले काउन्सिलले दर्ता खारेजी गरेको हो  ।’

यसअघि १६ असोज २०८१ को काउन्सिल बैठकले भने उनको अस्थायी दर्तालाई फुकुवा गर्दै एमडी अप्थाल्मोलोजिष्टको रुपमा विशेषज्ञ चिकित्सकको रुपमा दर्ता गर्ने निर्णय गरेको थियो ।

काउन्सिलले विदेशी नागरिकको हैसियतमा अध्ययन गरेका चिकित्सकले नेपाल मेडिकल काउन्सिलमा दर्ता लिन नमिल्ने प्रावधान रहेको बताउँदै सोही आधारमा डा. सरबजनाको हाल कायम दर्ता खारेज गरिएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *