पश्चिम एशिया युद्धको असर : नेपालीले खाने औषधीमा !

'औषधी बनाउने कच्चा पदार्थको आपूर्ति देखि ढुवानीसम्म बढ्यो मूल्य'
132
Shares

काठमाडौँ, १२ चैत । अमेरिकी र इजराइली सेनाले इरानमाथि आक्रमण सुरु गरेको आज २७ औँ दिन पुग्यो । रोकिने छाँट अझै पनि छैन । तीन देशबीचको युद्धको असर भने नेपालीको भान्सा देखि खाने औषधीसम्म परेको छ ।

खासगरी युद्धमा प्रत्यक्ष जोडिएका देशको निसाना सैन्य आधार क्षेत्रसंगै प्रेट्रोलियम पदार्थ तथा ग्याँस भण्डारका क्षेत्रमा देखिएका छन् । यसले गर्दा प्रेट्रोलियम पदार्थ तथा ग्याँसको मूल्य आकासिएको छ । त्यसले नेपाल जस्तो युद्धबाट टाढा रहेको देशका जनता प्रत्यक्ष मारमा परेका छन् ।

यातायातमा प्रयोग हुने पेट्रोल देखि खाना पकाउने ग्याँससम्म अभाव त भएको थियो नै,  त्यो भन्दा महत्वपूर्ण औषधी उत्पादन तथा प्याकेजिङका लागि चाहिने कच्चा पदार्थको पेट्रोकेमिकल अभाव देखिन थालेको छ । पेट्रोलियम पदार्थको अभावले मूल्य बढ्दा औषधी ढुवानीमा असर गरेको छ ।

‘आजकै दिनमा औषधी अभाव नै भयो भन्न त मिल्दैन, तर युद्ध रोकिने छाँट नहुँदा केही साता वा महिनापछि यसको ठूलो असर देखिन सक्छ,’ नेपाल औषधी उत्पादक संघ (एपोन)का अध्यक्ष विप्लभ अधिकारीले भने।

उनले एपीआई तथा अन्य कच्चा पदार्थको मूल्य बढेकाले औषधी उत्पादन लागत झण्डै २० देखि ३० प्रतिशतसम्म बढेको बताए। साथै, प्याकिङ मेटेरियलका बाइप्रोडक्टहरूको मूल्य पनि बढेको र पेट्रोलियम पदार्थ, ट्युब, बोतल तथा सलाइन बनाउन प्रयोग हुने सामग्रीको भाउ अहिले ३० देखि ७० प्रतिशतसम्म बढेको  दावी गरे ।  उनले नयाँ सरकारले ढिला नगरी यस विषयलाई गम्भीरताका साथ लिएर आवश्यक निर्णय लिनुपर्ने बताए ।

नेपाल औषधी आयातकर्ता संघ (मियान)का अध्यक्ष पवन आचार्य नेपालमा आयात हुने कतिपय जीवन रक्षक औषधीहरुको वितरणमा अफ्टेरो पर्न थालेको बताउँछन् । ‘पश्चिम एशियामा भइरहेको युद्धबाट सिर्जित अवस्थाले अहिले तेल तथा ग्याँस आपूर्तिमा असर भएको छ । जसका कारण ढुवानीमा समस्या देखिएको छ । अहिले खासगरी आयात हुँदै आइरहेको स्लाइन लगायत विभिन्न औषधीको ढुवानीमा असर भएको आयातकर्ता साथीहरुले भनिरहनु भएको छ । सरकारले सहयोग नगरे आयात अवरुद्ध हुन सक्छ,’उनले भने । उनले यो विशेष अवस्थामा राज्यले भन्सार छुट दिएर आयातकर्तालाई राहत दिन सकिने सुझाव दिए ।

यता औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले पश्चिम एशिया युद्धको असर औषधी क्षेत्रमा पनि पर्न गुनासो आफूकहाँ आएको बताए । ‘नेपाली औषधी उत्पादक साथीहरु, आयातकर्ता साथीहरुले पेट्रोकेमिलको भाउ बढेको, सहज उपलव्धतामा समेत समस्या हुन सक्ने देखिएको अरु कच्चा पदार्थ तथा तयारी प्रडक्ट आयातमा ढुवानीमा समस्या हुन थालेको गुनासो गर्न थाल्नु भएको छ । हामीले अहिले कहाँ कहाँ कसरी असर पर्दैछ भनेर आन्तरिक अध्ययन पनि थालेका छौँ र उत्पादक तथा आयातकर्तासंग छलफल अघि बढाउँदै छौँ,’ उनले भने ।

महानिर्देशक ढकालले उद्योगी तथा व्यवसायीहरुलाई समस्या पर्दा सरकारले सहयोग गरिरहेको भन्दै अहिले पनि अवस्था हेरेर आवश्यक सहयोग गर्ने बताए । अब नयाँ सरकार बन्ने तयारीमा छ, भोली विभागीय मन्त्री पनि आउनु होला । यो अहिलेको विषम परिस्थिति बारेमा सरकारले आवश्यक कदम चाल्छ उनले भने ।

यता औषधी क्षेत्रका जानकार एवं फार्मासिष्ट प्रदीप लम्सालले पश्चिम एशियामा भएको युद्धको असर देखाएर औषधीको मूल्य बढाउने खेल त भएको छैन भन्दै शंका व्यक्त गरे । उनले नयाँ परिस्थितिका कारणले के कस्तो असर भएको छ र त्यसले औषधीको ढुवानी तथा मुल्य मा प्रभाव परेको छ कि छैन भन्ने बारेमा स्वतन्त्र अध्ययन टोली बनाई निर्णय लिनु पर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *