कतारमा युद्धको बाछिटा परेपछि ‘फुटबलर’ साम्बाको उपचार न्युजिल्याण्डमा

काठमाडौँ, ११ चैत । नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले न्युजिल्यान्डमा आफ्नो घुँडाको शल्यक्रिया गराएकी छन् ।
कतारमा घुँडाको शल्यक्रिया गर्नका लागि सामाजिक सञ्जालमा सहयोगको अपिल गरी समर्थकबाट आर्थिक संकलन गरेकी साम्बाले बुधबार बिहान आफ्नो घुँडाको शल्यक्रिया न्युजिल्याण्डमै भएको जानकारी दिएकी छन् ।
युद्धका कारण कतारको अवस्था सामान्य नभएका कारण साम्बाले न्युजिल्यान्डमै शल्यक्रिया गरेकी हुन् ।
‘खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेकै कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि त्यहाँकै सुझावअनुसार न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट मेरो शल्यक्रिया गरिएको छ’, साम्बाले भनेकी छन्, ‘स्थिति सामान्य हुनेबितिक्कै रिह्याब एस्पेटारमा निरन्तरता दिने जानकारी सबैमा गर्छु ।’
उनले अब न्युजिल्यान्डकै चिकित्सकको निगरानीमा पुनर्स्थापनाको काम सुरु हुने जानकारी दिएकी छन् ।
साम्बाले आफ्नो उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् । ‘यस पीडाको घडीमा मलाई साथ दिनुहुने वेलिङ्गटन र अकल्यान्डमा रहनुभएका नेपाली परिवारलाई जति धन्यवाद दिए पनि कम हुन्छ’, उनले लेखेकी छन्, ‘मेरो क्लब वेलिङ्गटन फिनिक्स र मेरो व्यवस्थापन टिमले दिनरात गरेर यो शल्यक्रियाको लागि समय मिलाउनुभएको छ । आम समर्थक जसले सधैँ मेरो लागि सहयोग र माया दिनुभयो, त्यसै ऊर्जा लिएर म पुनरागमनको यात्रामा अघि बढेको छु । यहाँहरू सबैलाई हृदयदेखि धन्यवाद । अब सम्पूर्ण ध्यान पुनरागमनमा ।’
कतारमा शल्यक्रिया गर्न ठूलो धनरासी लाग्ने भन्दै सामाजिक सञ्जालबाट सहयोगको याचना गरेपछि नेपालका चिकित्सकहरुले स्वदेशमै शल्यक्रिया गराउन सुझाव दिएका थिए ।
राष्ट्रिय ट्रमा सेन्टरले त आफूकहाँ यस्ता खालका शल्यक्रिया धेरै भएको भन्दै साम्बाले चाहेको खण्डमा निशुल्क उपचार गरिदिने बताएको थियो ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 