मन्त्रालय आउन छाडिन् स्वास्थ्य मन्त्री डा. गौतम

काठमाडौँ, १० चैत । आइतबार दिउसो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सभा हलमा मन्त्रालय तथा विभागका कर्मचारीलाई बोलाएर धन्यवाद दिएकी स्वास्थ्य मन्त्री डा. सुधा गौतम सोमबार (हिजो) दिउसो केही समय मन्त्रालय आएकी थिईन । तर, आज भने आईनन् ।
उनले हिजो नै आफ्नो सचिवालयका कर्मचारीहरुलाई ‘अत्यावश्यक काम परे बोलाउनु नत्र म आउँदिन’ भनेर निस्केकी थिईन ।
मन्त्री गौतमको सचिवालयमा रहेकी यमुना सापकोटाले मन्त्री डा गौतम मन्त्रालय आउन लगभग छाडेको बताईन । ‘उस्तै इमरजेन्सी पर्दा त आउनै पर्छ नत्र उहाँले म अब आउदिन है भनेर जानु भएको हो,’ सापकोटाले भनिन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पनि स्वास्थ्य मन्त्रीको रुपमा डा गौतम अनौपचारिक रुपमा विदा भएको बताए । ‘औपचारिक रुपबाट अब नयाँ सरकार बनेपछि न विदा हुनेहोला तर अब हिजोबाट मन्त्रालय आउन छाड्नु भएको छ,’ उनले भने ।
सापकोटाका अनुसार मन्त्री डा. गौतमले निर्वाचन पछि ठूला नीतिगत निर्णय गरेकी छैनन् । निर्वाचनको आचारसंहिता लागू भएपछि नै नीतिगत र ठूला निर्णयहरु कुनै पनि भएका छैनन् । ‘दैनिक कार्य सञ्चालनका लागि हुने नियमित काम त हुने नै भयो । तर अस्ति आइतबार उहाँले आफ्नो प्रतिवेदन सार्वजनिक गरेपछि त थप काम गर्न मिलेन पनि,’ उनले भनिन् ।
हुन पनि मन्त्रालयका अधिकारीहरुले आइतबार मन्त्रीले गरेको धन्यवाद ज्ञापन कार्यक्रममा नै विदाईका अवसरमा प्रदान गरिने मायाको चिनो हस्तान्तरण गरिसकेका थिए । मन्त्री गौतमले त्यसपछि मन्त्रीका हैसियतमा सहभागी हुनुपर्ने कार्यक्रममा समेत सहभागिता जनाएकी छैनन् ।
आज मात्रै मन्त्रीको प्रमुख आत्थ्यितामा दुईवटा कार्यक्रम थियो । राष्ट्रिय क्षयरोग केन्द्रको आयोजनामा भएको विश्व क्षयरोग दिवस र वाटर एड नेपालको अर्को कार्यक्रममा मन्त्री डा गौतम अनुपस्थित भएपछि स्वास्थ्य सचिव डा विकास देवकोटाले सो जिम्मेवारी सम्हालेका थिए ।
‘मन्त्री ज्यू आउने भनेर तय भएका कार्यक्रम हुन् तर उहाँ अनुपस्थित हुने अवस्था भएपछि म गएको हुँ,’ सचिव डा. देवकोटाले भने ।
त्यसो त स्वास्थ्य मन्त्री गौतम मात्रै होईन प्रधानमन्त्री सुशीला कार्की पनि आजबाट आफ्नो कार्यालय नआउने गरी विदा भएकी छन् । उनले आगामी १३ चैतका दिन नयाँ सरकार घोषणा हुनासाथ प्रधानमन्त्री निवास छाडने तयारी गरेकी छन् ।
अर्थ मन्त्री रामेश्वर खनाल, शहरी विकास मन्त्री कुमार इङनाम लगायतले पनि आफ्नो मन्त्रालयहरुबाट अनौपचारिक रुपमा विदा लिइसकेका छन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 