नेपालमा क्षयरोग भयावह अवस्था : बार्षिक रुपमा थपिन्छन् ६७ हजार, मृत्युको संख्या १६ हजार
क्षयरोगका ४२ प्रतिशत बिरामी अझै उपचारबाहिर

काठमाडौं, १० चैत । नेपालले सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने तथा सन् २०५० सम्ममा देशलाई क्षयरोग मुक्त बनाउने लक्ष्य लिएको छ । तर अहिले पनि ४२ प्रतिशत बिरामी उपचारको पहुँचमा आउन सकेका छैनन् ।
हरेक वर्ष थपिने करिब ६७ हजार नयाँ बिरामीले यसै पनि चिन्ता बढाएको छ । त्यो भन्दा ठूलो चिन्ता अझै पनि ठूलो हिस्सा पत्ता नलागेको र त्यत्तिकै ठूलो हिस्सा उपचार बाहिर रहेको तथ्यले लक्ष्य प्राप्तिमा बाधक बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
विज्ञहरु तथा प्रमुख सरोकारवाला भन्छन्, ‘नेपालमा क्षयरोग अझै पनि गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेको देखिएको छ।’
२४ मार्चलाई हरेक वर्ष विश्व क्षयरोग दिवसको रुपमा मनाउने गरिन्छ । नेपालमा पनि आज विविध कार्यक्रम गरि क्षयरोग दिवस मनाईदै छ । दिवसको पूर्व सन्ध्यामा राष्ट्रिय क्षयरोग केन्द्रले सोमबार पत्रकार सम्मेलन गरी नेपालको क्षयरोग नियन्त्रण कार्यक्रम र हालको अवस्थाबारेमा जानकारी दिएको थियो ।
केन्द्रका निर्देशक डा. भुवन पौडेलका अनुसार नेपालमा वार्षिक रूपमा करिब ६९ हजार मानिस क्षयरोगबाट प्रभावित हुने गरेका छन्। तीमध्ये करिब १६ हजार जनाको हरेक वर्ष मृत्यु हुने अनुमान छ। कार्यक्रममा उनले क्षयरोगबाट हरेक दिन हुने ४४ जनाको मृत्यु न्युनिकरण गर्नका लागि राज्यका तर्फबाट भएका प्रयासबारेमा जानकारी दिए ।
उनले नेपालको मात्रै होईन, क्षयरोगको विश्वव्यापी अवस्था बारेमा पनि बताए । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई स्रोतको आधार मानि सार्वजनिक गरिएको विवरणमा सन् २०२३ मा विश्वभर १ करोड ६ लाख मानिस क्षयरोगबाट संक्रमित भएका थिए भने १३ लाखभन्दा बढीको मृत्यु भएको थियो।
क्षयरोगको तथ्यांकमा नेपाल
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ मा नेपालमा ६७ हजार नयाँ क्षयरोगका बिरामी भएको अनुमान थियो । जसको दर प्रति एक लाख जनसंख्यामा २२७ रहेको थियो । मृत्यु दर प्रति एक लाखमा ५३ जना रहेको थियो ।
केन्द्रका निर्देशक डा पौडेल भन्छन्, ‘नेपालमा गत आर्थिक वर्ष २०८१र८२ मा ३९ हजार १५१ जना क्षयरोगका बिरामी पत्ता लगाई उपचारमा ल्याइएको थियो। तीमध्ये करिब ६१ प्रतिशत पुरुष, ३९ प्रतिशत महिला र करिब ५.६ प्रतिशत बालबालिका रहेका छन्।’

यस्तै उपचारमा रहेका बिरामीमध्ये ७२ प्रतिशत फोक्सो सम्वन्धी क्षयरोग, २८ प्रतिशत फोक्सो बाहेक अन्य अंगमा लाग्ने क्षयरोग देखिएको थियो । यस्तै औषधी प्रतिरोधी क्षयरोगका बिरामी ६२५ जना पहिचान भएका थिए ।
केन्द्रका अनुसार गतवर्षमा उपचारमा ल्याइएका बिरामीमध्ये औषधी सम्वेदनशील क्षयरोगमा ९२ प्रतिशत र औषधी प्रतिरोधी क्षयरोगमा ७६ प्रतिशत उपचार सफल भएको थियो ।
तर अझै पनि करिब ४२ प्रतिशत बिरामी पत्ता नलाग्ने वा उपचारको पहुँचभन्दा बाहिर रहने अवस्था छ, जसले रोग नियन्त्रणमा ठूलो चुनौती खडा गरेको छ।
कस्ता–कस्ता क्षयरोग छन् ?
नेपालमा मुख्य रूपमा तीन प्रकारका क्षयरोग देखिन्छन् :
फोक्सो सम्बन्धी क्षयरोग
सबैभन्दा धेरै देखिने प्रकार हो। यसले फोक्सोमा असर पार्छ र खोकी, रगत आउने, ज्वरो, तौल घट्ने जस्ता लक्षण देखिन्छन्।
फोक्सो बाहिरको क्षयरोग
यो शरीरका अन्य अंगहरू जस्तै ग्रन्थी, हड्डी, मस्तिष्क, पेट लगायतमा देखिन्छ।
औषधि प्रतिरोधी क्षयरोग
यो जटिल प्रकार हो, जसमा सामान्य औषधिले काम नगर्ने भएकाले लामो र महँगो उपचार आवश्यक पर्छ।
नेपालमा सेवा विस्तार भए पनि चुनौती कायम
सरकारले देशभर निःशुल्क परीक्षण तथा उपचार सेवा उपलब्ध गराउँदै आएको छ। हाल ६ हजार २४१ वटा स्वास्थ्य संस्थाबाट क्षयरोग सेवा प्रदान भइरहेको छ भने आधुनिक परीक्षण प्रविधिहरू पनि विस्तार गरिएको छ।
केन्द्रका अनुसार ७८५ संस्थामा माइक्रोस्कोपी सेवा, १४२ वटा संस्थामा द्रुत परीक्षण सेवा निशुल्क रुपमा सञ्चालन गरिएको छ । औषधी प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा रहेको छ । यस्तै १४९ स्थानीय तहमा क्षयरोग मुक्त नेपाल अभियान विस्तार भएको छ । तर पनि आर्थिक अभाव, सामाजिक विभेद (कलङ्क), जनचेतनाको कमी र स्वास्थ्य सेवामा पहुँचको समस्या अझै प्रमुख चुनौतीका रूपमा रहेको छ।
‘अन्त्य सम्भव छ, सबैको साथ चाहिन्छ’
“हो, हामी क्षयरोग अन्त्य गर्छौ स् राष्ट्रिय अभियान, हाम्रो योगदान ” भन्ने नारासहित सरकारले यसवर्ष पनि समुदाय स्तरसम्म अभियान विस्तार गरेको छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले स्थानीय तह, निजी क्षेत्र, नागरिक समाज र सञ्चारमाध्यमलाई सक्रिय सहकार्यका लागि आह्वान गर्दै समयमै परीक्षण, नियमित उपचार र जनचेतना अभिवृद्धि नै क्षयरोग अन्त्यको मुख्य उपाय भएको जनाएको छ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 