राजनीतिक नियुक्ती लिएकाहरुलाई ‘मार्ग प्रशस्त’ गरिदिन रास्वपाको आग्रह

काठमाडौँ, ९ चैत । नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विगतका सरकारका पालामा राजनीतिक नियुक्ती खाएकाहरुले आफ्नो पदबाट ‘मार्ग प्रशस्त’ गरिदिन आग्रह गरेको छ ।
देश नयाँ कोर्षबाट अघि बढी सकेको र अब बन्ने सरकार समेत विगतका भन्दा फरक तरिकाबाट सञ्चालन हुने भन्दै यसअघि नियुक्ती खाएका सबैले पदबाट राजिनामा दिन भनेको हो ।
‘हामी मेरिट र क्षमताका आधारमा नयाँ नियुक्तीहरु गर्ने पक्षमा छौँ । जनताले स्पष्टसंग आफ्नो मत मार्फत सन्देश दिईसकेका छन् । त्यसैले यसअघि नियुक्ती खाएका सबैलाई हार्दिक अनुरोध छ । मार्गप्रसस्त गरिदिनु पर्छ,’ रास्वपाका प्रवक्ता मनिष झाले भने ।
उनले योग्यतम र क्षमतावान व्यक्तिले पुन प्रतिस्पर्धामार्फत आउन सक्ने समेत बताए । ‘मेरिटमा अटाए, कार्यकुशलता भए पद त्यागेका मानिस पनि पुनः प्रतिस्पर्धामा आउन सक्छन् । रास्वपाले त्यसलाई सकारात्मक रुपमा लिन्छ । तर, अहिलेलाई उनीहरुले स्पष्ट रुपमा बुझिदिनुप¥यो । पदबाट आफैं हटेर नयाँ सरकार र जनमतको कदर गरिदिनु पर्यो’ उनले भने ।
नयाँ सरकार पुर्नसंरचनासहितको नयाँ मोडलमा जान लागेको भन्दै जनताको करबाट राजनीतिक स्वार्थको व्यवस्थापन गर्न गरिएका नियुक्तिहरु खारेज गर्न खोजिएको बताए ।
उनले राष्ट्रिय योजना आयोग र महान्यायधीवक्ता कार्यालयमा हुने नियुक्ति सत्ता परिवर्तनसँगै स्वत हटे जस्तै गरी यसपटक बाँकी सबै नियुक्तिले पनि स्वतः मार्गप्रशस्त गरिदिएको आफूहरुले हेर्न चाहेको बताए ।
स्वतः नबदलिएको खण्डमा उत्पन्न हुने प्रक्रियागत झण्जटलाई नियुक्ति पाएकाहरुले बुझिदिनु आवश्यक रहेको पनि उनको भनाई छ ।
प्रधानमन्त्री एवम् मन्त्रिपरिषद् कार्यालय स्रोतकाअनुसार दुई वर्ष अघिको तथ्याङ्कले यस्ता राजनीतिक नियुक्तीका पद १ हजार १६७ वटा रहेको देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका प्रतिष्ठान, परिषद्, अस्पताल तथा केन्द्र लगायतका दर्जनौँ कार्यालयहरुमा राजनीतिक नियुक्ती हुने गरेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 