किष्ट मेडिकल कलेजमा गरिएको कलेजो प्रत्यारोपण सम्बन्धि अध्ययन् अन्तर्राष्ट्रिय मञ्चमा

कलेजोका बिरामी किन समयमै उपचारका लागि अस्पताल पुग्न सक्दैनन् ?
320
Shares
– डा. एकानन्द सिंह (फाइल तस्बिर)

काठमाडौँ, ७ चैत । ललितपुरस्थित किष्ट मेडिकल कलेज तथा अस्पतालमा गरिएको कलेजो प्रत्यारोपणसम्बन्धी अध्ययन अब अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने भएको छ ।

स्विट्जरल्यान्डको जेनेभामा आगामी ६ देखि ९ मे सम्म आयोजना हुने ‘इन्टरनेशनल लिभर ट्रान्सप्लान्टेसन सोसाइटी’को वार्षिक सम्मेलनमा नेपालका कलेजो प्रत्यारोपण सर्जन डा. एकानन्द सिंहले ‘ह्वाइ पेसियन्ट्स डोन्ट रिच लिभर ट्रान्सप्लान्टेसनस् अ कम्प्रिहेन्सिभ एनालाइसिस अफ ब्यारियर्स इन नेपाल’ शीर्षकको अध्ययन प्रस्तुत गर्ने भएका छन्।

डा. सिंहका अनुसार यो अध्ययनले नेपालजस्ता देशमा कलेजो प्रत्यारोपणजस्तो प्रभावकारी उपचार उपलब्ध हुँदाहुँदै पनि किन धेरै बिरामी त्यससम्म पुग्न सक्दैनन् भन्ने गम्भीर प्रश्न उठाएको छ। अन्तर्राष्ट्रिय स्तरमा नेपालबाट यस्तो विषयमा अनुसन्धान प्रस्तुत हुनु स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

नेपालमा कलेजोसम्बन्धी रोगहरू तीव्र रूपमा बढ्दै गएका छन्। तर, यसको अन्तिम र प्रभावकारी उपचार मानिने कलेजो प्रत्यारोपण अझै धेरै बिरामीको पहुँचभन्दा बाहिर छ।

अध्ययनबाट के देखियो ?

किष्ट मेडिकल कलेज, ललितपुरमा गरिएको अध्ययनले यस यथार्थलाई तथ्यांकसहित उजागर गरेको छ।

अध्ययनअनुसार प्रत्यारोपणका लागि मूल्याङ्कनमा पुगेका बिरामीहरूको औसत उमेर ५२ वर्ष रहेको छ भने करिब ७९ प्रतिशत पुरुष रहेका छन्।

तीमध्ये अधिकांश बिरामी मध्यम गम्भीर अवस्थाका थिए। तर, सबैभन्दा ठूलो चुनौती उपयुक्त डोनर नपाइनु रहेको छ, जुन ५५.७ प्रतिशतमा देखिएको छ। त्यस्तै आर्थिक समस्या ३२.९ प्रतिशत बिरामीका लागि मुख्य अवरोध बनेको छ।

अध्ययनले देखाएको अर्को महत्वपूर्ण पक्ष भनेको यो समस्या केवल व्यक्तिगत नभई प्रणालीगत रहेको हो। अंगदानको अभाव, उपचारको उच्च लागत, जनचेतनाको कमी तथा कमजोर रेफरल प्रणालीले संयुक्त रूपमा बिरामीलाई प्रत्यारोपणसम्म पुग्न नदिने अवस्था सिर्जना गरिरहेका छन्।

झन् गम्भीर कुरा त के छ भने, ‘धेरै बिरामीहरू उपचारको प्रक्रियामै हराउने वा समयमै आवश्यक उपचार नपाउँदा ज्यान गुमाउने अवस्थासमेत देखिएको’ अध्ययनमा उल्लेख छ। यसले नेपालको स्वास्थ्य प्रणालीमा सुधारको आवश्यकता औंल्याएको छ।

डा. सिंह नेपालका प्रतिष्ठित हेपाटोबिलियरी तथा लिभर ट्रान्सप्लान्ट सर्जनमध्येका एक हुन्। अन्तराष्ट्रिय मञ्चमा उनको यो प्रस्तुतिले नेपालमा कलेजो प्रत्यारोपणसम्बन्धी सेवा विस्तार, नीतिगत सुधार तथा जनचेतना अभिवृद्धिका लागि मार्गदर्शक बन्ने अपेक्षा गरिएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *