‘बालेन सरकार’को स्वास्थ्य मन्त्री को ?

काठमाडौँ, ६ चैत । ठ्याक्कै एक साता पछि देशले नयाँ प्रधानमन्त्री पाउने छ । नयाँ प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) हुनेछन् । प्रधानमन्त्रीको सपथ आगामी १३ चैत रामनवमीको दिन हुने बताइएको छ ।
बालेनको नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित भएकाबेला स्वास्थ्य मन्त्रालयको नेतृत्व कसले सम्हाल्ला भन्ने जिज्ञासा उठन् थालेको छ ।
‘जान्नेलाई छान्ने’ नीति लिएको रास्वपाले यसपटक मन्त्रालयमा विषय विज्ञहरुलाई जिम्मेवारी दिने बताएको छ । यद्धपी मन्त्री पद विज्ञ भन्दा पनि बढी ‘म्यानेजेरियल’ भूमिका महत्वपूर्ण हुुने भएकोले ‘म्यानेजमेन्ट’ राम्रो भएको व्यक्तिलाई मन्त्री बनाउने योजनामा रास्वपा नेतृत्व अघि बढेको बताइएको छ ।
स्वास्थ्य मन्त्रालय भन्ने वित्तिकै धेरैको धारणा चिकित्सक नै मन्त्री बन्ने हुन् भन्ने छ । कतिपयले चिकित्सक भन्दा जनस्वास्थ्य बुझेको व्यक्ति हुनुपर्छ भन्ने गरेका छन् । कतिपयले भने यसपटक रास्वपामा नर्सिङ पृष्टभूमीका व्यक्तिहरु पनि सांसद भएकोले उनीहरु पनि मन्त्री बन्न सक्छन् भन्ने आँकलन गरेका छन् ।
तर, रास्वपाका एक केन्द्रीय सदस्य भन्छन्, ‘मन्त्रीको रुपमा यसपटक विज्ञले नै चान्स पाउने हो । तर एउटा विषयको विज्ञ भएर मात्रै हुँदैन म्यानेजरियल स्कील पनि हुनुपर्छ । त्यस्तो व्यक्तिको विषयमा नेतृत्वले छलफल गरिरहेको छ ।’
‘स्वास्थ्य मन्त्री को बन्छन् अझै थाहा छैन’
बुधबार पार्टी सभापति रवि लामिछानेले आफ्ना सांसदको अभिमूखिकरण कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा भनेका थिए, आजका दिनसम्म मन्त्री को बन्छ भन्ने विषयमा कुनै निर्णय भएको छैन ।
उनले सम्वोधनका क्रममा मन्त्रीका लागि भनसुन गर्ने र मिडिया ट्रायल गर्ने काममा नलाग्न सांसदहरुलाई निर्देशन दिएका थिए । साथै उनले मन्त्री कसलाई बनाउने भन्ने बारेमा नेतृत्व जानकार रहेको र त्यसका लागि आवश्यक निर्णय गर्ने बताएका थिए ।
पार्टी सभापतिको निर्देशन पछि मन्त्रीका लागि सम्भावित सांसदहरु ‘तै चुप मै चुप’को अवस्थामा छन् ।
स्वास्थ्य बुझेकै होलान त मन्त्री ?
त्यसो त बालेन नेतृत्वको नयाँ मन्त्रीमण्डल १५-१६ जनाको बन्ने बताइएको छ । यसमा एकल रुपमा स्वास्थ्य मन्त्री हुने हो कि अरु पनि अर्थात शिक्षा र स्वास्थ्य मन्त्रालय एक जनाले सम्हाल्ने हो यसै भन्न सकिने अवस्था छैन ।
अहिले जस्तै एक जना मन्त्रीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय चलाउन दिईयो भने स्वास्थ्य क्षेत्रका, स्वास्थ्य बुझेका र संगसंगै ‘म्यानेजरियल स्किल’ भएका व्यक्ति चुनिन सक्छन् । तर शिक्षा विज्ञान प्रतिधि समेतको जिम्मा लिने गरी तोकियो वा एक मन्त्रीले दुई वटा मन्त्रालय सम्हाल्नु परयो भने त्यसबेला स्वास्थ्य क्षेत्रकै व्यक्ति नहुन पनि सक्छ,’ ती केन्द्रीय सदस्य भन्छन्, ‘आजको दिनसम्म यसबारेमा पनि हामीलाई कुनै जानकारी छैन, अहिले पार्टी सभापति लामिछाने, उपाध्यक्षद्धय डिपी अर्याल र स्वर्णिम वाग्ले, बरिष्ठ नेता बालेन र उनका सहयोगी कुमार बेन बाहेक अरुलाई थाहा छैन ।’
स्वास्थ्य क्षेत्रकै खोजियो भने को होला त मन्त्री ?
यसपटक रास्वपाबाट प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीबाट विजयी भई आएका कुल १८२ सांसदमध्ये स्वास्थ्य क्षेत्रको भनेर चिनिएका सांसदहरु मात्रै १२ जना बढी छन् ।
त्यसमा यसअघि स्वास्थ्य राज्यमन्त्री बनिसकेकी डा तोसिमा कार्की देखि दलित समुदायबाट समानुपातिक सूचीमा पर्न सफल नर्स खिमा विक सम्म छन् ।
रुपन्देही ३ बाट ठूलो मतान्तरले विजयी सांसद डा लेखजंग थापा, कैलालीबाट निर्वाचित जनस्वास्थ्यविज्ञ डा आनन्दबहादुर चन्द, डा शम्भुकुमार यादव, महोत्तरीबाट हेविवेटलाई पछारेका जनस्वास्थ्य विज्ञ दीपककुमार साह र स्वास्थ्य स्वयंसेविका आशा झा निर्वाचित भएका छन्। यस्तै डा ओजस्वी शेरचन, डा अंकिता ठाकुर संगै नर्सहरु खसआर्यबाट प्रभा ढकाल प्रभा ढकाल , निशा मेहता मधेसी समुदाय, कामिनी चौधरी मधेसी थारू समुदाय, सामिना मियाँ मुस्लिम समुदाय र खिमा बिक दलित समुदायबाट समानुपातिक सूचीमा पर्न सफल भएका हुन्।
उनीहरु पनि स्वास्थ्य क्षेत्रका विज्ञको रुपमा कहलिएका छन् ।
तर, अचम्मको कुरा के छ भने पछिल्लो पटक कुनै पनि सांसदले म मन्त्री हुन्छु भनेर खुलेर बोलेका छैनन् । ‘पार्टीले योग्य ठानेर दिएमा पछि हटिदैन, तर अहिले नै मलाई मन्त्री बनाईदिनुहोस भनेर भनिदैन,’ एक सांसदले भने ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 