कान्ति बाल अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच बाल क्यान्सर उपचारका लागि सहकार्य गर्ने समझदारी

नेपालमा बाल क्यान्सरको अवस्था कस्तो छ ?
76
Shares

काठमाडौं, २ चैत । बालबालिकामा देखिने क्यान्सरको उपचारलाई अझ प्रभावकारी र सहज बनाउन भक्तपुर क्यान्सर अस्पताल र कान्ति बाल अस्पतालबीच समझदारी भएको छ।

सोमबार कान्ति बाल अस्पतालमा भएको कार्यक्रममा त्यहाँका निर्देशक डा. पंकज राय र भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्वल चालिसेले उपचार सेवामा सहकार्य गर्ने सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

यससंगै अब दुवै सरकारी अस्पतालबीच बालबालिकाको क्यान्सर उपचार सम्बन्धी सेवा आदानप्रदान, उपचार व्यवस्थापनमा समन्वय तथा आवश्यक प्रविधि र विशेषज्ञता साझा गर्ने कामलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

समझदारीअनुसार अब बाल क्यान्सरका बिरामीको उपचार योजना दुवै अस्पतालका विशेषज्ञ चिकित्सकले संयुक्त रूपमा तयार पार्नेछन्। कुनै एक अस्पतालमा उपलब्ध नभएको सेवा अर्को अस्पतालमार्फत उपलब्ध गराइने व्यवस्था गरिनेछ। यसका साथै चिकित्सक तथा स्वास्थ्यकर्मीबीच सेवा आदानप्रदान, तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने सहमति पनि भएको छ।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. चालिसेले आजको समझदारी पछि कान्ति बाल अस्पतालमा हाल उपलब्ध नभएका क्यान्सरसम्बन्धी केही महत्वपूर्ण सेवाहरू अब भक्तपुर क्यान्सर अस्पताल मार्फत सहज रूपमा प्राप्त गर्न सकिने बताउँदै आफूकहाँ नभएका कतिपय सेवाहरु कान्तिबाट उपलव्ध हुन सक्ने बताए ।

उनले भने, ‘हामीकहाँ र कान्तिमा भएका क्यान्सर रोगको उपचारमा प्रयोग हुने किमो तथा रेडियसन थेरापी, आईएमआरटी, आईएचसी, फ्लो साइटोमेट्री, फ्रोज़न बायोप्सी आवश्यक पर्ने अन्को सर्जरी तथा एचआईपीईसी जस्ता अत्याधुनिक उपचार प्रविधि समावेश छन्। यस सहकार्यले बाल क्यान्सर उपचारमा समयमै परीक्षण, सही उपचार योजना र बहु–विशेषज्ञ टोलीको सहभागितालाई सहज बनाउने अपेक्षा गरिएको छ,’डा. चालिसेले भने ।

त्यसो त स्वास्थ्य क्षेत्रका विज्ञहरूले पनि यस्ता साझेदारीले सरकारी अस्पतालहरूबीच स्रोत, प्रविधि र अनुभव साझा गर्न मद्दत पुग्ने भएकाले बाल क्यान्सर उपचारको गुणस्तर सुधार हुने बताउँछन् ।

अहिले भक्तपुर क्यान्सर अस्पताल र कान्ति बाल अस्पतालमा बाल क्यान्सरको उपचारका लागि १५- १५ शैय्या छुट्याइएको छ ।

भक्तपुरले निकट भविष्यमा पेट स्क्यान सेवा, बोन म्यारो ट्रान्सप्लान्ट लगायतका उन्नत सेवाहरू पनि उपलब्ध गराउने तयारी भइरहेको जनाएको छ।

त्यसो त सरकारको नीतिअनुसार १४ वर्ष मुनिका बालबालिकामा देखिने क्यान्सरको उपचार सेवा निःशुल्क प्रदान गरिने व्यवस्था रहेको छ। साथै बिरामीहरूले स्वास्थ्य बीमा कार्यक्रम मार्फत पनि उपचार सेवा लिदै आएका छन् ।

नेपालमा बाल क्यान्सरको अवस्था

नेपालमा बाल क्यान्सर सार्वजनिक स्वास्थ्यको एक महत्वपूर्ण चुनौतीका रूपमा रहेको छ। विभिन्न अध्ययन तथा अन्तर्राष्ट्रिय संस्थाका तथ्यांक अनुसार नेपालमा हरेक वर्ष करिब ९०० देखि १,६०० बालबालिकामा क्यान्सर देखिने अनुमान गरिएको छ।

तर तीमध्ये करिब एक तिहाइ बालबालिकाले मात्र उपचार सेवा पाउने अवस्था रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। उपचार सेवामा पहुँचको कमी, विशेषज्ञ सेवा सीमित हुनु, ढिलो पहिचान हुनु तथा आर्थिक समस्या जस्ता कारणले धेरै बालबालिका उपचारबाट वञ्चित हुने गरेका छन्।

नेपालमा बाल क्यान्सरको बाँच्ने दर अझै पनि ३० देखि ४० प्रतिशतको आसपासमा रहेको बताइन्छ, जबकि विकसित देशहरूमा यही दर ८० प्रतिशतभन्दा माथि पुगेको छ।

डा चालिसेका अनुसार बालबालिकामा देखिने क्यान्सरमध्ये रगतको क्यान्सर (ल्युकेमिया) , लिम्फोमा तथा मस्तिष्क सम्बन्धी क्यान्सर सबैभन्दा धेरै देखिने प्रकार हुन्।

स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार सरकारी अस्पतालहरूबीच यस्तो सहकार्य बढ्दै गएमा बाल क्यान्सरको समयमै पहिचान, उपचार सेवा विस्तार तथा विशेषज्ञ सेवा उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *