स्वास्थ्य बीमा कार्यक्रम अब राष्ट्रिय परिचय पत्रसँग जोडियो

सेवा प्रवाह डिजिटल र सुरक्षित हुने विश्वास
388
Shares

काठमाडौँ, २ चैत । स्वास्थ्य बीमा कार्यक्रमलाई सुरक्षित, विश्वनीय तथा प्रविधिमैत्री बनाउने उद्देश्यले स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ।

सोमबार राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बीमा प्रणालीमा आबद्ध गर्ने गरी दुई निकायबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा कृष्ण प्रसाद पौडेलले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार अब स्वास्थ्य बीमा बोर्डले ‘राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली’ मार्फत विद्युतीय सेवाहरूको प्रयोग गर्नेछ। यस सहकार्यले नागरिकको पहिचान डिजिटल रूपमा प्रमाणीकरण गर्ने बाटो खोलेको छ।

राष्ट्रिय परिचय नम्बरलाई बीमासँग जोड्दा प्रणाली अझ बढी सुरक्षित, छिटो र भरपर्दो हुने विश्वास लिइएको छ।

यो नयाँ व्यवस्थासँगै स्वास्थ्य बीमाको दर्ता र नवीकरण प्रक्रियामा हुने झन्झट हट्नेछ। परिचयपत्रमा भएकै विवरणका आधारमा डिजिटल प्रमाणीकरण हुने भएकाले सेवाग्राहीले अस्पताल तथा सेवा केन्द्रहरूमा छिटो सेवा पाउनेछन्। यसले तथ्यांक एकीकरणमा सघाउ पुर्‍याउनुका साथै एकै व्यक्तिको दोहोरो दर्ता हुने समस्यालाई समेत पूर्ण रूपमा नियन्त्रण गर्नेछ।

बोर्डका कार्यकारी निर्देशक डा. पौडेलले बीमामा देखिएको दोहोरोपनाको समस्या हटाउन, बास्तविक व्यक्तिको एकिन गर्न तथा सेवाग्राहीलाई छिटो छरितो ढंगले सेवा उपलव्ध गराउन राष्ट्रिय परिचयपत्रसंग जोडिनु महत्वपूर्ण हुने बताए ।

उनले सरकारी सेवाहरूलाई एकीकृत गर्ने लक्ष्य अनुरूप चालिएको यो कदमले स्वास्थ्य बीमाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने दावी गरे ।

बीमा बोर्डले यसअघि नै राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने तयारी गरिरहेको थियो । तर बीचमा सो कार्यक्रम रोकिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *