नेपाली औषधी उद्योगको विकासका लागि नेपाल र भारतबीच सहकार्य हुने

काठमाडौं, २९ फागुन । नेपाल औषधी उद्योगको विकास, प्राविधिक सुधार र व्यापार प्रर्वद्धनका लागि नेपाल र भारतका निकायबीच द्विपक्षीय सहयोगको सहमति भएको छ।
नेपाल फर्मा एक्स्पो २०८२ को अवसरमा नेपाल औषधी उद्योग र भारत सरकारको इन्जिनियरिङ निर्यात प्रर्वद्धन परिषद् (ईईपिसी)बीच यस्तो सहमति भएको हो।
सहमति अनुसार दुवै पक्षले नेपाली औषधी उद्योगलाई व्यावहारिक, सामाजिक र प्राविधिक रूपमा सबल बनाउन सहकार्य गर्नेछन्। यसका साथै औषधी उत्पादनको क्षेत्रमा भित्रिएका नयाँ प्रविधि र व्यावसायिक सीप आदानप्रदान गर्न दुवै देशका प्रतिनिधिहरूबीच नियमित सेमिनार तथा गोष्ठीहरू सञ्चालन गरिनेछ।
सम्झौतामा औषधी उद्योगको विकासका लागि औद्योगिक भ्रमण र व्यापार व्यवसायलाई थप विस्तार गर्न एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ।
यो सहकार्यले नेपाली औषधि उत्पादकहरूलाई अन्तर्राष्ट्रियस्तरको प्रविधिमा पहुँच पुर्याउन र स्वदेशी उद्योगको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
भारत सरकारको ईईपिसीसँगको यो साझेदारीले नेपालको औषधि क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



