उत्पादक कम्पनीसंग सोझै सुलभ दरमा औषधी खरीद गर्ने योजना बनाउँदै सरकार

स्वास्थ्य मन्त्री डा गौतम भन्छिन्, 'बल्कमा औषधी लिन पाए त कम मूल्यमा नै पाइएला नि'
108
Shares

काठमाडौँ, २८ फागुन । स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले औषधी खरीद प्रक्रियालाई छरितो बनाई सुलभ दरमा सर्वसाधारणलाई उपलव्ध गराउने योजना अघि सारेको बताएकी छन् ।

उनले सो योजना अन्तर्गत उत्पादन गर्ने स्वदेशी कम्पनीसंग अस्पतालले सोझै बल्कमा औषधी खरीद गर्ने र त्यसबापत कम्पनीहरुले मूल्यमा सहुलियत प्रदान गर्ने जानकारी दिईन् ।

नेपाल औषधी उत्पादक संघ (एपोन)को आयोजनामा भएको नेपाल फर्मा एक्स्पो २०२६ को बिहिबार उद्घाटन गर्ने क्रममा मन्त्री डा गौतमले अगाडी थपिन्, ‘सरकारले गुणस्तरीय औषधी स्वदेशी उद्योगहरुसंग सोझै खरीद गरयो भने त मूल्यमा पनि सहुलियत हुने भयो । किनकी कम्पनीले मार्केटिङका लागि थप लगानी गर्न नै परेन । बीचको स्टकिष्ट तथा थोक विक्रेताको आवश्यकता पनि भएन । हामी यसलाई स्वास्थ्य बीमा कार्यक्रममा पनि जोडन सक्छौँ ।’

मन्त्री डा गौतमले स्वदेशी औषधी उद्योगलाई सहयोग गर्न राज्यका तर्फबाट सोझै औषधी खरीद गर्न सकिने र त्यसले उद्योग तथा उपभोक्ता दुबैलाई फाइदा हुने बताईन् ।

उनले एपोनका प्रतिनिधि तथा अन्य सरोकारवाला पक्षसंग पनि यस विषयमा कुरा गरेको जानकारी दिईन ।

देशभर करीव ८८ वटा औषधी कम्पनी सञ्चालनमा छन् । तर कतिपय कम्पनीहरु बन्द हुने अवस्थामा पुगेको बताइन्छ । मन्त्री गौतमले सरकार र उद्योगबीचको सिधा खरीद प्रक्रियाले डुब्न लागेका कम्पनीहरुलाई पनि राहत हुने बताईन ।

मन्त्री शर्माले आयुर्वेद क्षेत्रको सम्भावनाबारे पनि चर्चा गर्दै कर्णाली र सुदूरपश्चिम क्षेत्रमा पाइने जडीबुटीका आधारमा आयुर्वेदिक अनुसन्धान तथा उत्पादन विस्तार गर्न सकिने बताइन्।

अर्को प्रसंगमा मन्त्री डा गौतमले औषधीको गुणस्तर जाँचका लागि राष्ट्रिय औषधी प्रयोगशालाको स्तरोन्नती गर्ने बताईन । उनले भनिन्, ‘राष्ट्रिय औषधी प्रयोगशालाको क्षमता अभिबृद्धि गर्न निकै नै जरुरी छ । यसले अहिले हाम्रो लक्ष्य अनुसारको काम गर्न सकिरहेको छैन । न आवश्यक जनशक्ति छ, न त आवश्यक प्रविधि र भवन नै । यी सबैलाई अबको केही वर्ष भित्रमै प्रश्न नउठ्ने गरी समाधान गर्ने छौँ ।’

उनले औषधीको गुणस्तरमा आफूले कुनै कम्प्रमाइज नगर्ने उल्लेख गरिन ।

नेपाल औषधी उत्पादक संघ (एपोन)का अध्यक्ष विप्लभ अधिकारीले नेपालको अर्थतन्त्रलाई मजबुत बनाउने उद्योगको रुपमा औषधीलाई विकास गर्न सकिने भन्दै त्यसका लागि राज्यले समेत लगानी बढाउनु पर्ने बताए । उनले कतिपयले स्वदेशी औषधीको गुणस्तरमा प्रश्न उठाउने गरेको प्रसंग झिक्दै गुणस्तरहिन औषधी हुनै नसक्ने ठोकुवा गरे ।

‘औषधी गुणस्तरहीन हुनै सक्दैन । यति गुणस्तरहिन हुन्थ्यो भने नागरिकको उपचारमा कसरी प्रयोग हुन्थ्यो । अहिले १४ वटा देशमा निर्यात हुन्छ, गुणस्तरहिन भएको भए निर्यात हुन्थ्यो ?’ प्रतिप्रश्न गर्दै उनले भने ।

नेपाल औषधी व्यवसायी संघका अध्यक्ष प्रकाशकुमार खण्डेलवालले नेपालमा औषधीको धेरै सम्भावना रहेको भन्दै राज्यले उचित बातावरण सिर्जना गरिदिन आग्रह गरे । उनले मेडिकल टुरिजम र आयुर्वेदिक औषधीको उत्पादनबाट देश समृद्ध हुन सक्ने भन्दे यस सोचेर अघि बढ्न समेत सरकार, उद्योगी र लगानीकर्ताको ध्यानाकर्षण गराए ।

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *