तीन जना पूर्व स्वास्थ्य मन्त्री पराजित

काठमाडौँ, २३ फागुन । गत बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा तीन जना पूर्व स्वास्थ्य मन्त्रीहरु पराजित भएका छन् । यसरी पराजित हुने मन्त्रीहरुमा निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेल, पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र गिरिराजमणि पोखरेल रहेका छन् ।
नेपाली काँग्रेसका महामन्त्री समेत रहेका निवर्तमान स्वास्थ्य मन्त्री पौडेल यसपटक पनि २०७९ को निर्वाचनमा विजयी भएको क्षेत्र काठमाडौँ ५ बाट काँग्रेसका तर्फबाट उम्मेद्धार बनेका थिए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सस्मीत पोखरेलले झण्डै साढे तीन गुणा मतान्तरले पराजित गरेका छन् । रास्वपाबाट उम्मेद्धार बनेका पोखरेलले ३० हजार ७३७ मत ल्याई बिजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी रहेका पौडेलले ९ हजार १५९ मत मै खुम्चिनु पर्यो ।
यस्तै अर्का पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाल पनि यसपटकको निर्वाचनमा पराजित भएका छन् । नेकपा एमालेको तर्फबाट तेह्रथुम १ मा उम्मेद्धार बनेका ढकाललाई सो क्षेत्रमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका सन्तोष सुब्बाले झिनो मतान्तरबाट पराजित गरेका छन् । सुब्बाले ११ हजार ५६१ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धीको रुपमा ढकाल १० हजार ६८२ मतमै खुम्चिएका छन् ।
यसैगरी दुईपटक स्वास्थ्य मन्त्री बनेका गिरिराजमणि पोखरेल पनि यसपटक पराजित भएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट महोत्तरी १ मा उम्मेदवार बनेका पोखरेललाई सोही क्षेत्रमा रास्वपाका तर्फबाट उम्मेदवार बनेका प्रमोदकुमार महतोले झण्डै तीन गुणा बढी मतान्तरले पछि पार्दै आफ्नो विजयी सुनिश्चित गरेका छन् ।
महतोको ३४ हजार ६३६ मत आउँदा पूर्व स्वास्थ्यमन्त्री पोखरेलको १२ हजार ६२४ मत आएको थियो ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ