एम्बुलेन्स थन्क्याएर चालकलाई निर्वाचनमा खटाइयो
राजिनामा दिई एक वर्ष अघि नै विदेश पुगेका अहेवको पनि निर्वाचनका लागि सिफारिस

रुपन्देही, १३ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार सेवामा खटिनु पर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई यसपटक निर्वाचनमा नखटाउन निर्वाचन आयोगलाई आग्रह गरेको थियो ।
तर, रुपन्देहीमा भने एम्बुलेन्स चालक देखि विदेश गएका स्वास्थ्यकर्मीलाई निर्वाचनमा खटाइएको छ ।
मायादेवी गाउँपालिकाअन्तर्गत कम्हरिया स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसुति सेवा उपलब्ध भएपछि गर्भवती महिलाको सेवा तथा सिकिस्त बिरामीहरुको औषधीउपचारमा सहयोग पुर्याउन भन्दै एम्बुलेन्स राखिएको छ ।
गाउँपालिकाले एम्बुलेन्स खरीद गरेपछि तत्कालिन पालिका उपाध्यक्ष तारा यादवका भतिज अवधेश यादवलाई चालक नियुक्त गरिएको थियो । अहिले उनैलाई मायादेवी गाउँपालिकाको बरेवा माध्यमिक विद्यालय मतदान केन्द्रमा खटाइएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले एम्बुलेन्स चालक यादवलाई चुनावमा खटाउने निर्णय गरेका हुन् ।
चौविसै घण्टा उच्च सतर्कतामा रहनु पर्ने एम्बुलेन्सका चालक निर्वाचनमा खटेपछि एम्बुलेन्स त्यत्तिकै थन्किने भएको छ । ूबरेवा माविमा खटिएको छु, स्वास्थ्य चौकी र मतदान केन्द्र सँगै छ, ‘चालक यादवले भने ‘ आवश्यक परेमा एम्बुलेन्स मेरो भाईले चलाउँछ ।’
कम्हरिया स्वास्थ्य चौकी प्रमुख प्रदीप पण्डितले भने एम्बुलेन्स तयारी अवस्थामा रहनुपर्ने भएकाले चालक यादवलाई चुनावमा खटाउनका लागि आफूले सिफारिश नगरेको जानकारी दिए । ‘प्रसुति केन्द्रका दुई जना र एम्बुलेन्स चालकलाई सिफारिस गरिएको होइन, खोई कसरी कहाँ भनेर खटेछन्,थाहा भएन,’ पण्डितले भने ।
मायादेवी गाउँपालिकाका प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले सबै कर्मचारीको लिष्ट पठाउने क्रममा एम्बुलेन्स चालकको पनि नाम गएको हुन सक्ने भन्दै त्यसलाई तत्काल सच्याउने जानकारी दिए ।
विदेश पुगेका कर्मचारीलाई निर्वाचन सम्पन्न गर्न सिफारिस
यता लुम्बिनी साँस्कृतिक नगरपालिका तरकुल्ला मा।वि। मतदान केन्द्रका लागि खटाइएका अहेव जितेन्द्र हरिजन राजीनामा दिएर विदेश पुगेका कर्मचारी हुन् ।
मायादेवी गाउँपालिकाबाट राजीनामा दिएर विदेश पुगेका अहेब हरिजनलाई मायादेवी गाउँपालिकाका प्रशासकीय अधिकृत पोखरेलले नै सिफारिस गरेका हुन् ।
तर अहेव अहेव हरिजन राजीनामा दिएर एक वर्ष अघि नै इजरायल गएका थिए । उनलाई अहिले तरकुल्ला मावि केन्द्र (क) मा सहायक कर्मचारीको रुपमा खटाइएको हो ।
निर्वाचन जस्तो सम्वेदनशील कार्य सम्पन्न गर्नका लागि हावादारी रुपमा कर्मचारी खटाउने निर्णय भएको भन्दै अहिले सिफारिस कर्ताको आलोचना भएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 
