नेकपा (एमाले)को निर्वाचन घोषणा पत्रमा स्वास्थ्य :

‘स्वस्थ खाना योग/व्यायम, निरोगी नेपालको महाअभियान’

104
Shares

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले पार्टीको तर्फबाट निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ को मूल नारा र देश एमालेले बनाउँछ भन्ने अठोटसहित अध्यक्ष केपी शर्मा ओलीले एक समारोहबीच घोषणापत्र सार्वजनिक गरे ।

८० पेजको घोषणा पत्रमा एमालेले स्वास्थ्यका विषयको विषयलाई समेत प्राथमिकताका साथ समेटेको छ ।  स्वस्थ खाना योग/व्यायम, निरोगी नेपालको महाअभियान नारा दिइएको उक्त घोषणा पत्रमा स्वास्थ्यका विषयहरु यसरी समेटिएका छन् :

  • आधारभूत स्वास्थ्य सेवामा निःशुल्क, विश्वसनीय र सबै नागरिकको पहुँचमा पुग्नसक्ने बनाउँदै सबै तहमा अस्पताल पूर्वाधार निर्माण, आधुनिक उपकरणको व्यवस्था, सेवाको गुणस्तर निर्धारण तथा जनशक्ति व्यवस्थापन गरी विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमै उपलब्ध गराउनेछौं ।
  • स्वास्थ्य बीमामा देखिएको वित्तीय तथा व्यवस्थापकीय समस्या हल गरी नागरिकलाई सहज स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौं ।
  • आधारभूत स्वास्थ्य सेवालाई प्रमाणमा आधारित प्राथमिकीकरण गरी निःशुल्क, विश्वसनीय र सर्वव्यापी बनाउनेछौं । संघीय सरकारको वित्तीय सहयोगमा स्थानीय तहमार्फत कार्यान्वयन गरिने आधारभूत स्वास्थ्य सेवाका साथै ठूला स्वास्थ्य प्रदायक संस्थालाई पनि आफ्नो कार्यक्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउने व्यवस्था मिलाउनेछौं ।
  • स्वास्थ्य प्रणालीमा रहेको दोहोरो वित्तीय बोझ, सेवा उत्पादन-खरिदको अन्योल र बीमा निःशुल्क सेवाबीचको दोहोरोपन हटाउन स्वास्थ्य बीमा प्रणाली र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमहरू क्रमशः एकीकृत गर्नेछौं । सही नीति, सुशासन र प्रभावकारी वित्तीय संयोजनमार्फत् उपलब्ध स्रोतकै अधिकतम् उपयोग गरी सर्वव्यापी स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौं।
  • स्वास्थ्य बीमा प्रणालीलाई संरचनात्मक र सञ्चालनगत सुधार गरी दिगो बनाउनेछौं। दिगो राष्ट्रिय वित्तीय स्रोतको व्यवस्था गर्दै बीमाको थैली विस्तार गर्नेछौं । आधारभूत, प्राथमिक र समग्र प्राथमिक स्वास्थ्य सेवाबीच स्पष्ट परिभाषा, सेवा प्याकेज, जिम्मेवारी र वित्तीय व्यवस्था कानूनमै स्पष्ट गर्नेछौं ।
  • प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा कम्तिमा एक एमडीजीपी चिकित्सक, नर्स, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध गराउनेछौं । स्वास्थ्य सेवा केन्द्रआधारित उपचार र सिफारिसमा मात्र रिफरल प्रणाली विकास गर्नेछौं।
  • जिल्ला अस्पतालको स्तरोन्नति गरी न्यूनतम विशेषज्ञ सेवा उपलब्ध गराउनेछौं र प्रदेशस्तरमा प्रभावकारी रिफरल प्रणाली स्थापना गर्नेछौं ।
  • वडादेखि केन्द्रसम्म अस्पताल पूर्वाधार निर्माण र आधुनिकीकरण सम्पन्न गरी जिल्ला, प्रदेश र केन्द्रीय अस्पतालबाट विश्वस्तरीय उपचार सेवा स्वदेशमै उपलब्ध गराउनेछौं ।
  • सरकारी अस्पतालको व्यवस्थापन, स्वास्थ्य जनशक्तिको नियुक्ति र परिचालन सुधार गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि प्रोत्साहन, सुरक्षा, वृत्तिविकास र मर्यादा अभिवृद्धि गर्नेछौं ।
  • निजी अस्पतालको शुल्क र गुणस्तर नियमनका लागि मापदण्ड र क्यापिङ प्रणाली लागू गर्नेछौं ।
  • संक्रमणजन्य र गैर-संक्रमणजन्य रोगको दोहोरो भारलाई सम्बोधन गर्न स्वास्थ्य प्रणालीलाई रोकथाम, प्रवर्द्धन र उपचारबीच सन्तुलित रूपमा सुधार गर्नेछौं। जनस्वास्थ्य सचेतना, स्वच्छ र पोषणयुक्त आहार, नियमित व्यायाम तथा वातावरणीय प्रदूषण नियन्त्रणका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछौं ।
  • योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा, आम्ची र होमियोप्याथीलगायत परम्परागत तथा वैकल्पिक चिकित्सा प्रणालीलाई आधुनिक चिकित्सासँग एकीकृत गर्नेछौं।
  • आधुनिक प्रविधि र कृत्रिम बौद्धिकताको प्रयोग गर्दै स्वास्थ्य प्रणालीलाई अत्याधुनिक बनाउनेछौं ।
  • स्वास्थ्य पर्यटन प्रवर्द्धन गर्दै सरकारी, निजी र सामुदायिक साझेदारी विस्तार गर्नेछौं। चिकित्सा शिक्षाको गुणस्तर र पहुँच विस्तार गर्दै विदेशबाट नेपालमा अध्ययन गर्न आउने विद्यार्थीको कोटा बृद्धि गर्नेछौं ।
  • स्वास्थ्य संस्थालाई सेवामूलक, सुशासित र उत्तरदायी केन्द्रका रूपमा विकास गर्नेछौं । अप्रभावकारी कार्यक्रमहरूको पुनरावलोकन गरी खारेज गर्नेछौं।
  • स्वास्थ्य क्षेत्रमा सार्वजनिक, निजी र सहकारी लगानी अभिवृद्धि गर्दै लगानी व्यवस्थापनलाई पारदर्शी, जवाफदेही र कुशल बनाउनेछौं।

घोषणा पत्रको पूर्ण पाठ यस्तो छ:

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *