नेपाल चिकित्सक संघ कार्यकारिणी समितिको म्याद लम्ब्याउने प्रस्तावमाथि परिषद् सदस्यहरुको फरक मत, विधान विपरीत निर्णय नगर्न चेतावनी

चिकित्सक संघका अध्यक्ष डा. कार्की भन्छन्, 'कहाँ निर विधान मिचियो ?'
80
Shares

काठमाडौं, असोज ५ । नेपाल चिकित्सक संघको आज बसेको परिषद् बैठकमा नेपाल चिकित्सक संघको बर्तमान कार्यकारिणी समितिको म्याद लम्ब्याउने गरि ल्याइएको प्रस्तावमाथि पाँचजना सदस्यहरुले लिखित रुपमा असहमति राखेका छन् । उनीहरुले म्याद थप गर्ने निर्णय विधान विपरीत हुने भन्दै फरक मत दर्ता गराएका हुन् ।

त्यसरी फरक मत राख्ने सदस्यहरुमा डा छवि पन्थी, डा दीपेन्द्र पाण्डे, डा अमित उप्रेती, डा अपिल उप्रेती र डा सञ्जीतकुमार साह छन् ।

त्यसो त बर्तमान कार्यकारिणी समितिको म्याद आगामी २० फागुन देखिसकिदैछ । म्याद समाप्त हुनु अघि नै निर्वाचनबाट नयाँ कार्यसमिति आउनु पर्ने थियो । तर, त्यसका लागि गठन गरिएको डा. प्रणयरत्न शाक्य नेतृत्वको निर्वाचन समिति ‘अदालती लफडा’मा परेपछि निर्वाचन नै अनिश्चित भएको हो ।

फरक मत राख्नेहरुले संघको विधान २०४७ को धारा ( झ)मा यदि केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन हुन सकेन र कार्यकाल समाप्त भयो भने संघ सञ्चालन गर्ने सम्पूर्ण जिम्मेवारी परिषदमा रहने व्यवस्था रहेको भन्दै विधानले कार्यसमितिको म्याद थप्ने अधिकार परिषद्लाई नदिएको दावी गरेका छन् ।

उनीहरुले आगामी २१ फागुन देखि परिषद्का सदस्यहरुमध्येबाट परिषद् कार्यसमिति गठन गरी संघको दैनिक कार्यसञ्चालन र निर्वाचनको प्रक्रिया अघि बढाउन माग समेत गरेका छन् । उनीहरुले आफ्ना मागको वेवास्ता गरी विधान विपरित कार्य भए नयाँ परिषद् कार्यसमिति गठन गर्न आफूहरु बाध्य हुने समेत चेतावनी दिएका छन् ।

फरक मत राख्ने मध्येका एक सदस्य डा छवि पन्थीले विधानमा उल्लेख नभएको र गर्नै नमिल्ने प्रस्ताव निर्णयका लागि भन्दै पेश भएपछि आफूहरु विरोधमा उत्रिएको बताए ।

कानून विपरित कार्य गर्दा निर्वाचन समिति कानूनी लफडामा फसेकोले यो अवस्थामा पुगेको स्मरण गराउँदे उनले विधि विधान र कानूनमा रहेर अघि बढ्न सुझाव समेत दिए ।

यता संघका अध्यक्ष डा. अनिल बिक्रम कार्की भने म्याद थप गर्ने प्रस्ताव विधान अनुसार नै ल्याएको जिकिर गरे । उनले यसअघि मधेश आन्दोलनको बेलामा पनि यसरी नै कार्यसमितिको म्याद थपिएको स्मरण गराउँदै सहमतिमा आउन समेत आग्रह गरे ।

उनले ‘अहिले निर्वाचनमा छिरिसकेको भन्दै पुरानो कार्यसमितिले नयाँ कार्यसमिति आउँदासम्म काम गर्ने भन्ने कुरा आपत्तिको विषय कहाँ निर भयो ?’ भन्दै प्रति प्रश्न समेत गरे ।

Screenshot
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *