स्वास्थ्य बीमाबाट तपाईँको उपचारमा कति खर्च भयो ? हेर्नुहोस् एसएमएस

काठमाडौँ, १ फागुन । स्वास्थ्य बीमा कार्यक्रमबाट औषधी उपचार गर्दा अस्पतालले बील दिए पनि कति रकम खर्च भयो ? कति बाँकी छ भनेर बीमितले भेउ पाउन झन्झट थियो ।
बीमितहरुले पनि आफ्नो रकम कति बाँकी छ कति खर्च भयो भनेर बील तिरेका बेला एमएमएस आउने व्यवस्था मिलाए हुने नि भन्दै गुनासो गर्दै आएका थिए ।
बोर्डले यसपटक बीमितहरुको गुनासो सुनेको छ ।
अब बीमितको खाताबाट दैनिक रुपमा अस्पतालले काटेको अर्थात दावी गरिएको रकमको विवरण एचआईवी एलर्ट प्रणालीमार्फत सम्बन्धित बीमितको मोवाइलमा एमएमएसद्धारा प्राप्त हुन्छ ।
‘हामीले बीमितहरुको सहजता, पारदर्शिता र विश्वासर्ला अझ मजबुत बनाउन नयाँ डिजिटल सूचना सेवा सुरु गरेका छौँ । अब देखि उपचारका क्रममा अस्तालहरुले काटेको रकम बीमितको मोवाइलमा एमएसएस जान्छ,’ बोर्डका कार्यकारी निर्देशक डा कृष्णप्रसाद पौडेलले भने ।
उनले सेवा लिनका लागि बीमितको मोवाइल नम्बर भने अध्यावधिक हुन आवश्यक रहेको बताए । हालसम्म मोवाइल नम्बर अध्यावधिक भएको छैन भने जिल्लास्थित बोर्डको कार्यालयमा गएर अध्यावधिक गर्न सकिने समेत जानकारी दिए ।
यसले स्वास्थ्य बीमा हुने सम्भावित बदमासी रोक्न समेत सहज हुने बोर्डको दावी छ ।
बोर्डका सूचना अधिकारी विकेश मल्ल ठकुरी भन्छन्, ‘कहि कसैले बदमासी गरी अर्को व्यक्तिको कार्ड प्रयोग गरी उपचार लिएको रहेछ भने पनि अब त्यो सम्भव हुँदैन । किनभने एमएमएस सम्वन्धित व्यक्तिको मोवाइलमा पुगिहाल्छ । त्यसले ठगी कार्यलाई पनि निरुत्साहित गर्दछ ।’
बोर्डले स्वास्थ्य बीमाको नविकरण गर्न व्यक्तिहरुका लागि अब डिजिटल भुक्तानीको सुविधा समेत विस्तार गरेको छ ।
‘पहिले पहिले दर्ता सहयोगीबाट नै बीमाको नविकरण गर्नु पर्दथ्यो तर अब खल्ती, ईसेवा, नागरिक एप र कनेक्ट आईपीएस एपबाट व्यक्तिले आफ्नो अनुकुल स्थानबाट नवीकरण गर्न सक्छ,’ सूचना अधिकारी ठकुरीले भने ।
स्वास्थ्य बीमा कार्यक्रममा डिजिटल सिस्टम कार्यान्वयनमा आउँने क्रम बढ्दै जाँदा बोर्डले ओपीडीका लागि क्यापिङ भने टाइट गरेको छ । उसले केही महिना अघि ओपिडीमा २५ हजारसम्मको क्यापिङ राख्ने व्यवस्थालाई आजबाट कार्यान्वयनमा ल्याएको जनाएको छ ।
नेपालको स्वास्थ्य बीमा कार्यक्रममा बार्षिक ३५०० रुपैयाँ तिरेपछि प्रतिपरिवार (५ जना)लाई एक लाख रुपैयाँसम्मको सुविधा दिने गरिएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ