‘एचपीभी खोप कार्यक्रम-२०८२’ सम्बन्धी तथ्यगत जानकारी

32
Shares
– डा. अभियान गौतम

पाठेघरको मुखको क्यान्सर र एचपीभी :

  • नेपालमा महिलाहरूमा हुने विभिन्न क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको देखिन्छ भने क्यान्सरको कारणबाट महिलाहरूको मृत्यु हुनेमा यो क्यान्सर पहिलो स्थानमा रहेको छ ।
  • नेपालमा औसतमा हरेक दिन ६ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सरको संक्रमण हुने गरेको छ भने ४ जना महिलाको यस रोगका कारण ज्यान जाने गरेको छ।
  • यो क्यान्सर मुख्य गरेर एचपीभी भाइरसको संक्रमणबाट हुन्छ ।
  • एचपीभीको २०० भन्दा बढी किसिमका प्रजातिहरू (सेरोटाइप) हुन्छन् र यसमध्ये कम्तिमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छन् । अझ् यसमध्ये पनि १६ र १८ प्रजाति प्रमुख कारक मानिन्छन् ।
  • नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट भएको देखिन्छ ।
  •  पाठेघरको मुखको क्यान्सर रोग निवारण गर्ने लक्ष्य हासिल गर्नेतर्फ उन्मुख हुन विश्व स्वास्थ्य संगठनले तीनवटा स्वास्थ्य सेवाहरूको गन्तव्य निर्धारण गरेको छ । त्यसमा (१) पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप, (२) उच्च गुणस्तरीय बिधिबाट पाठेघरको मुखको परीक्षण र (३) पाठेघरको मुखको क्यान्सर निदान भएका महिलाहरूको उपचार पर्दछन् ।
  • माथी उल्लेखित ती तीन गन्तव्यमध्ये नेपालमा दोस्रो र तस्रो सेवा विगत लामो समयदेखि उपलब्ध हुँदै आएको छ । पहिलो सेवा अर्थात एचपीभी खोप सेवा भने भने गत वर्ष देखि औपचारिक रुपमा प्रारम्भ भएको हो । यसपटक देखि नियमित खोप कार्यक्रमका लागि देशव्यापी रुपमा समेटिएको छ ।

यसपटकको एचपीभी खोप कार्यक्रम:

  • खोपको नाम: सेकोलिन (Cecolin)
  • यो खोप एक मात्रा दिईने छ । यो खोप एक मात्रालाई नै पूर्णमात्रा मानिन्छ ।
  • गत वर्षको अभियानमा एचपीभी खोप लगाइसकेका किशोरीहरूले यो वर्ष खोप लगाउनु पर्दैन ।

२०८२ मा सञ्चालन हुने एचपीभी खोप कार्यक्रम:

  • पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्ममा जनस्वास्थ्यको समस्याको रुपमा नहुने अवस्थामा पुर्याएर निवारण गर्ने विश्वव्यापी लक्ष्य हासिल गर्ने तर्फ उन्मूख हुने उद्धेश्यले नेपालमा गत वर्षदेखि एचपीभी खोपलाई नियमित खोपमा सुरूवात गरिएको छ ।
  • यहि माघ २५ गतेदेखि फागुन १५ गतेसम्म देशव्यापी रूपमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप कार्यक्रम सञ्चालन हुँदैछ।
  • अत्यधिक चिसो तथा हिमपातका कारण केही हिमाली जिल्लाहरूमा भने यो कार्यक्रम चैत्र–वैशाखमा सञ्चालन गरिनेछ।
  • खोप सेवा सञ्चालन हुने मिति र समय स्थानीय तह अनुसार फरक हुन सक्ने भएकाले आ–आफ्नो विद्यालय वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउन अनुरोध गरिन्छ ।
  • नियमित खोप कार्यक्रम अन्तर्गत कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा कुनै कारणबस विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई एचपीभी खोप दिईंदैछ ।
  • साथै गत वर्ष सञ्चालन भएको एचपीभी खोप अभियानमा खोप लगाउन छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने ११ देखि १४ वर्षसम्मका किशोरीहरूलाई पनि यो वर्ष अन्तिम मौकाका रूपमा एचपीभी खोप दिईनेछ ।
  • यो खोप मुख्यतस् विद्यालय केन्द्रित खोप केन्द्रहरूबाट दिईने छ ।
  • यो वर्ष करीब ३ लाख ५० हजार किशोरीहरूलाई एचपीभी खोप दिइनेछ ।
  • यो खोप निस्शुल्क छ, सुरक्षित छ र यो खोपले जीवन रक्षा गर्छ ।

#डा. गौतम स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको बाल तथा खोप शाखा प्रमुख हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *