स्वास्थ्य बीमाका सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्की : ‘३५०० रुपैयाँ लिने सेवा नदिने गरेपछि त मारि हाल्छन् नि !’

स्वास्थ्य मन्त्री डा. शर्माको प्रश्न, 'बजेटमा अहिलेसम्मको बक्यौता यो वर्ष फरफारक हुन्छ भनेर लेख्ने अहिले रकम छैन भन्न मिल्छ ? '
300
Shares

काठमाडौँ, २१ माघ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमामा देखिएका समस्या तत्काल समाधान गर्नुपर्ने बताएकी छन् । स्वास्थ्य बीमाका सन्दर्भमा देखिएका समस्या समाधानका लागि भन्दै सिंहदरबारमा आज आयोजित मुख्य सरोकारवालाबीचको छलफलमा उनले यस्तो बताएकी हुन् ।

‘नागरिकसंग ३५०० रुपैयाँ लिने तर सेवा नदिने गर्न त भएन । यसरी त मारिहाल्छन नि । त्यसैले यो अवस्थामा हामीले छाडेर हिडन मिल्दैन जे जसरी हुन्छ समाधान गरौँ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

उनले स्वास्थ्य बीमा सहितका स्वास्थ्यका अन्य कार्यक्रमहरुलाई एकद्धार प्रणालीबाट अघि बढाउनु पर्ने र अनुगमनलाई अलि चुस्त बनाउनु पर्नेमा पनि जोड दिईन । उनले रकम भुक्तानी नभएर अस्पतालहरुले सेवा बन्द गरेको खबर आफूले सुनिरहेको भन्दै यसलाई जे जसरी भए पनि सम्वोधन गर्ने र बीमा कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताईन ।

उनले अर्थ मन्त्री रामेश्वर खनाल विदेश भ्रमणमा रहेको भन्दै आएपछि थप छलफल गरी समाधानको बाटोमा अघि बढ्ने प्रतिवद्धता जनाईन ।

त्यसअघि स्वास्थ्य मन्त्री डा सुधा शर्माले बीमाका सन्दर्भमा गत वजेटमा अर्थ मन्त्रालयले उद्घोष गरेको पुरानो बक्यौता फरफारक गर्ने भन्ने कुरा जोड्दै त्यसको कार्यान्वयन हुनु पर्ने बताईन ।

कडा रुपमा प्रस्तुत भएकी उनले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि थप १४ अर्व तत्काल चाहिने भन्दै अन्यथा बन्द गरे हुने बताएकी थिईन ।

उनले आफूले अध्यादेशबाट स्वास्थ्य बीमा ऐन संसोधनको प्रस्ताव अघि बढाउन खोजेको त्यो सफल नभएको, बहुपक्षीय छलफल पछि आउने सुझावको आधारमा अर्थ मन्त्रालयले आवश्यक बजेट दिने संकेत गरे पनि त्यो नभएको अवस्था भन्दै नयाँ परिस्थिमा सरकार बने पनि त्यसका मन्त्रालयबाट भइरहेका कामहरु पुरानै पारामा अल्झाउने खालको भएको भन्दै दुख व्यक्त गरिन ।

त्यसअघि स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा कृष्णप्रसाद पौडेलले स्वास्थ्य बीमा कार्यक्रमको वर्तमान अवस्थाको बारेमा प्रस्तुति दिएका थिए ।

उपचारबापतको सोधभर्ना रकम थुप्रिएको भन्दै पछिल्लो पटक ठूला सरकारी अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रमबाट हात झिकेका छन् । यता बोर्डले पनि ओपिडी लगायतका सेवामा अधिकतम २५ हजार रुपैयाँको क्यापिङ राख्ने निर्णय गरेको छ ।

कहिले रोकिने र कहिले चल्ने स्वास्थ्य बीमा कार्यक्रमबाट आजित भएका बीमितहरुले बोर्डको पछिल्लो निर्णय पछि थप ठगिएको महसुस गरेका छन् । पछिल्लो निर्णयपछि सरकार र बोर्ड नेतृत्वको चौतर्फी आलोचना सुरु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *