मेडिकल अंकालोजिष्ट डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ‘ग्लोबल थिंक ट्यांक’ सदस्यमा नियुक्त

72
Shares

काठमाडौं, १५ माघ । विश्वका ८० बढी देशमा क्यान्सर बिरामीलाई जीवनरक्षक औषधी तथा उपचारमा सहयोग गर्दै आएको अन्तराष्ट्रिय संस्था ‘द म्याक्स फाउण्डेसन’ले नेपालका मेडिकल अंकोलोजिस्ट डा. अरुण शाहीलाई आफ्नो प्रतिष्ठित ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त गरेको छ ।

यो नियुक्ति क्यान्सर उपचारमा पहुँच, नीति निर्माण, र बिरामी–केन्द्रित कार्यक्रमहरू विकास गर्न विश्वस्तरमा काम गरिरहेका विज्ञहरूको समूहमा नेपालको प्रतिनिधित्वको रूपमा महत्वपूर्ण मानिएको छ।

डा. शाहीको यो भूमिकाले न्यून तथा मध्यम आय भएका मुलुकहरूमा क्यान्सर उपचार सुधारका लागि रणनीति निर्माण, अनुभव आदान–प्रदान र नवीन पहलहरूमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

उनी हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कन्सल्ट्यान्ट अंकोलोजिष्टका रूपमा कार्यरत छन् ।

लामो समयदेखि नेपालमा क्यान्सर उपचार सेवा विस्तार, जनचेतना अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सहकार्यमा सक्रिय रहँदै आएका डा शाही भन्छन्, ‘विश्वभर क्यान्सर बिरामीको उपचार पहुँच सुधार्ने उद्देश्य बोकेको ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांकमा आबद्ध हुन पाउनु मेरो लागि ठूलो सम्मान हो। यस प्लेटफर्ममार्फत नेपालको अनुभव विश्वसँग बाँड्दै, विश्वका उत्कृष्ट अभ्यास नेपालमा भित्र्याउने प्रयास गर्नेछु ।,’

फाउण्डेसनले २० २१ वर्षदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरका बिरामीहरुलाई निःशुल्क औषधी उपलब्ध गराउँदैं आएको छ ।

हाल फाउण्डेसनले पाटनसहित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेबाट समेत रक्त, फोक्सो, किड्नी, पेट, जिष्ट र स्तन क्यान्सरका बिरामीका लागि १४ प्रकारका औषधीहरु बिरामीलाई निःशुल्क उपलब्ध गराइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *