एचपीभी खोप सञ्चालनको मिति तोक्न स्थानीय सरकारलाई सर्वाधिकार

काठमाडौँ, १३ माघ । त्यसो त एचपीभी खोप कार्यक्रम यसवर्ष देखि नियमित खोप कार्यक्रमको अन्तर्गत रहेको छ । पाठेघरको मुखको क्यान्सर विरुद्ध दिईने यो खोप गतवर्ष अभियानको रुपमा सञ्चालन गरी करीव १७ लाख बालिकाहरुलाई दिइएको थियो ।
गतवर्ष नै जारी निर्देशिकामा एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समेटिएको र हरेक वर्षको फागुन महिनालाई एचपीभी खोप लगाउने महिनाको रुपमा तोकिएको छ । तर खोप लगाउने चाँजो पाँजो मिलाएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको बाल तथा खोप शाखाले फागुन होइन माघ महिनामै लगाउन पनि स्थानीय तथा प्रदेशहरु स्वतन्त्र भएको बताएको छ ।
‘यसपटक फागुन २१ मा निर्वाचन छ । मतदान केन्द्र धेरै जसो विद्यालयमा तोकिएका छन् । एचपीभी खोप पनि विद्यालयमै गएर दिईने हुनाले यसपटक माघ र फागुन महिनाभरमा खोप सञ्चालन गर्न सकिने गरी मिति तोकिएको छ,’ विभागका खोप शाखा प्रमुख डा अभियान गौतमले भने ।
उनले यसपटक विद्यालयमा कक्षा ६ पढेका र विद्यालय बाहिर भए १० वर्ष उमेरका बालिकाहरुलाई खोप दिईने तयारी भएको समेत जानकारी दिए ।
यसपटक नियमित खोप कार्यक्रममा करीव साढे ३ लाख बालिकाहरुले खोप लिने विभागको अनुमान छ ।
उनले खोप कार्यक्रम सञ्चालनका लागि आवश्यक पर्ने तालीम तथा व्यवस्थापकीय कार्य सबै सम्पन्न भईसकेको बताए ।
‘खोपहरु प्रदेशहरुमा पुगिसकेको छ । त्यहाँबाट स्थानीय तहमा अब जाने क्रममा छ,’ उनले अगाडी थपे, ‘यसपटक गतवर्ष लक्षीत समूहमा छुटेका बालिकाहरुलाई पनि खोप दिने व्यवस्था मिलाइएको छ ।’
सरकारले ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी)को सहयोगमा एचपीभी खोप ल्याएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 