एमआरहरुको संस्थाबिरुद्ध एपोन र मियानद्धारा दायर रिटको पक्षमा फैसला

काठमाडौं, २४ पुस । उच्च अदालत पाटनले मेडिकल रिप्रिजेन्टेटिभ(एमआर)हरुको संस्था नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघबिरुद्ध नेपाल औषधी उत्पादक संघ (एपोन) र नेपाल औषधी आयातकर्ता संघ (मियान)ले संयुक्त रुपमा दायर रिटको पक्षमा फैसला सुनाएको छ ।
न्यायाधीशद्धय सूर्यनाथप्रकाश अधिकारी र शिबबहादुर रानाभाटको संयुक्त इजलासले बुधबार अन्तिम सुनुवाई गर्दै एपोन र मियानद्धारा दायर रिटको पक्षमा फैसला सुनाएको हो ।
नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ र त्यसका सदस्यहरुको गतिविधिले व्यवसायिक गतिविधिमा असर परेको भन्दै एपोन र मियानले संयुक्त रुपमा रिट दायर गरेका थिए ।
गत १८ भदौमा दायर रिटमा एपोन र मियानले नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ र यससँग जोडिएका कार्यसमिति र युनिटलाई विपक्षी बनाएका थिए ।
रिटमा औषधी तथा बिक्री प्रतिनिधि संघमाथि नेपाल औषधी उत्पादक संघ र नेपाल आयातकर्ता संघका प्रतिनिधि तथा म्यानेजर तहका कर्मचारीहरुलाई आफ्नो क्षेत्रमा प्रवेश निषेध गरेको, प्रवेश गर्नुपरेमा पाँच दिन अगाडि लिखित जानकारी गराउनु पर्ने, उनीहरुले दिएको सिमकार्ड र टाइम कार्ड प्रयोग गर्नुपर्ने, कुनै बैठक तथा भेला गर्न नपाउने, चिकित्सकहरुलाई एक्लै भेट्न नपाउने लगायतका नियम लगाएको र कतिपय उत्पादक तथा तिनका प्रतिनिधिमाथि दुर्व्यभार समेत गरेको आरोप लगाइएको थियो । उनीहरुले औषधी तथा बिक्री प्रतिनिधि संघका ती खालका गतिविधि रोक्न माग गर्दै रिट दायर गरेको थियो ।
उच्च अदालतको आदेशसँगै उत्पादक र आयातकर्ता संघका प्रतिनिधि तथा कर्मचारीले निर्वाध रुपमा देशका जुनसुकै क्षेत्रमा गएर काम गर्न पाउने छन् भने औषधी तथा बिक्री प्रतिनिधि संघले उनीहरुलाई अवरोध गर्न पाउने छैनन्।
फैसला पछि मियानका अध्यक्ष पवन आचार्यले यो फैसलाले व्यवसायिक कम्पनीहरुलाई आफ्ना काम निर्वाध रुपमा सञ्चालन गर्न बाटो खुलेको प्रतिक्रिया दिए ।
एपोनका उपाध्यक्ष सन्तोष बरालले उच्च अदालतको फैसालले औषधीको क्षेत्रमा देखिएको असान्दर्भिक क्रियाकलापमा रोक लागेको बताए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




Kindly share the case code and details
Kindly share case code and details.