विभागद्धारा प्रविधिजन्य स्वास्थ्य सामग्री र उपकरणको उत्पादन तथा पैठारी गर्ने कम्पनीसँग विवरण माग

काठमाडौँ, १५ पुस । अहिलेसम्म सरकारले स्वास्थ्य उपचारमा अत्यन्त महत्वपूर्ण मानिने प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण राम्ररी नियमन गर्न सकेको छैन ।
गतवर्ष यसको नियमन गर्न भन्दै औषधी व्यवस्था विभागले उत्पादन गर्ने स्वदेशी कम्पनी तथा पैठारी गर्ने फर्महरुलाई तीन महिना भित्र आफूकहाँ आएर दर्ता हुन भनेको थियो । तर, कम्पनी र फर्महरुले प्रक्रिया नपुगेको भन्दै विभागको आग्रहलाई अस्विकार गरे ।
यसपटक विभागले दर्ताका लागि आव्हान त गरेको छैन तर प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको विवरण उपलव्ध गराउन तिनै कम्पनी र फर्महरुलाई आग्रह गरेको छ । आग्रह मात्रै होइन, यसपटक उसले विवरण उपलव्ध गराउने ढाँचा समेत दिएर सोही अनुसार गर्न कम्पनी तथा फर्महरुलाई सात दिनको समय सिमा तोकेको छ ।
हुन पनि २०७४ बैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले औषधीजन्य स्वास्थ्य सामग्री तथा उपकरणको उत्पादन, निकासी, पैठारी वा विक्रीबितरणमा गुणस्तर कायम गर्न र सो को प्रभावकारी अनुगमन तथा निरीक्षण सम्वन्धी काम कारवाहीलाई व्यवस्थित गर्न भन्दै ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्वन्धि निर्देशिका -२०७४’ जारी गरेको थियो । तर आठ वर्ष वितिसक्दा त्यसको कार्यान्वयन हुन सकेको छैन ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले यसपटक अर्थोपेडिक इम्प्लान्ट, इन भिट्रो डाइग्नोस्टिक, अप्रेसन थिएटरमा प्रयोग हुने स्वास्थ्य सामग्री, कार्डियोभास्कुलर, सर्जिकल कमोडिटिज जस्ता स्वास्थ्य सामग्री र उपकरणहरु उत्पादन गर्ने स्वदेशी उत्पादक तथा पैठारी गर्ने फर्महरुलाई विवरण उपलव्ध गराउन भनिएको बताए ।
‘हामीले सार्वजनिक सूचना मार्फत ७ दिनको समय सिमा तोकेका छौँ । तोकिएको ढाँचामा विवरण उपलव्ध गराउन भनेका छौँ । कम्पनी तथा फर्महरुले इमेल मार्फत सो विवरण भर्न सक्नु हुन्छ । यो अवधीमा कति जनाले विवरण भर्नु हुन्छ ? त्यसपछि कतिवटा कम्पनी, कतिवटा फर्म, कुन देशबाट कति सामग्रीको आयात लगायतका विवरण आउला । सूचनालाई वेवास्ता गर्दै विवरण नबुझाउनेहरुमाथि विभागले थप कदम चाल्न सक्छ,’ उनले भने ।
- प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण अब तीन महिना भित्र दर्ता गर्नु पर्ने
- प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण दर्ता गर्न विभाग असफल
रसायन तथा मेडिकल आपूर्ती संघ नेपाल (केमसान)का अध्यक्ष भक्त हमाल विवरण पढाउने विषयमा आफूहरु सकारात्मक रहेको बताए । ‘विभागले सूचना जारी गरेको रहेछ । संस्थागत रुपमा भनेर पनि होला यहि विषयमा हिजो मलाई विभागबाट मलाई फोन पनि आएको थियो । अहिले विवरण उपलव्ध गराउन भन्नु भएको छ । यसमा हाम्रो सहयोग त हुन्छ नै । अरु थप कुरा केही थाहा छैन,’ छोटो प्रतिक्रिया दिदै भने ।
- छ वर्ष अघि पास भएको प्रविधिजन्य स्वास्थ्य सामग्रीको नियमन गर्ने निर्देशिका अझै कार्यान्वयनमा आएन
- स्वास्थ्यका प्रविधिजन्य उपकरण खरिद गर्न निर्देशिका
- मेडिकल उपकरणको भन्सार दर १ प्रतिशतमा झारौँ : केमसान अध्यक्ष हमाल
- प्रविधिजन्य स्वास्थ्य सामग्री उत्पादन गर्ने उद्योगलाई कच्चा पदार्थ आयातमा भारी भन्सार छुट
नेपालमा प्रविधिजन्य स्वास्थ्य सामग्री कति आउँछन् ? कहाँ कहाँबाट ल्याइन्छ ? यसको गुणस्तर के ? मूल्य कति भन्ने विषयमा सरकारलाई अत्तोपत्तो छैन ।
केमसान अध्यक्ष हमाल प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्वन्धि व्यवसाय गर्ने कम्पनी तथा फर्महरु २०० भन्दा बढी भएको अनुमान गर्दछन् । उनले यी कम्पनीहरुबाट बार्षिक २० अर्व बढीको कारोवार हुनसक्ने आफूहरुको अनुमान रहेको बताए ।

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 


