छवर्षे छोराको उपचारका लागि सहयोगको आग्रह

0
Shares

काठमाडौँ, २२ मंसिर  –  काभ्रेको दाप्चा काशिखण्ड नगरपालिका वडा नं ११ स्थायी घर भएका थालेसिमिया (अपुष्ट रक्तकोष)बाट पीडित छवर्षे छोरा मनिष नेपालीको उपचारका लागि सहयोग गरिदिन उनका अभिभावकले आग्रह गरेका छन् ।

आज राजधानीमा पत्रकार सम्मेलन गर्दै मनिषका बुबा रामचन्द्र नेपालीले छोराको उपचारका लागि आफूसँग पैसा नभएकाले आर्थिक सहयोग गरी छोराको जीवनरक्षा गरिदिन आग्रह गरेको हो ।

उनले भने, “मेरो छोरालाई जन्मेदेखि नै थालेसिमिया भएको रहेछ । हाल कान्तिबाल अस्पतालमा सामान्य उपचार गराइरहेको छु ।चिकित्सकले आठ वर्षसम्म उपचार नगरे नराम्रो नतिजा आउने बताएका छन् । उपचारका लागि रु ४५ लाख लाग्ने बताएका छन् । त्यति धेरै पैसा मसँग छैन ।”

उनले आर्थिक सहयोगका लागि सरकार, सङ्घसंस्था र विदेशमा रहने नेपालीलाई छोराको उपचारका लागि सहयोग गर्नु अनुरोध गरेका छन् ।

बिरामी बालकको बाबुको नाममा सिटिजन बैंकको खाता नम्बर ०५४०००००५१ सिएसमा सहयोग गर्न परिवारले अपिल गरेको छ ।

थालेसिमिया ‘अपुष्ट रक्तकोष’ रगतसम्बन्धी हुने एक प्रकारको अनुवंशीय रोग हो । यो रोग तीन महिनादेखि छ वर्षको बच्चामा देखिने रोग हो । चिकित्सकको भनाइअनुसार यो कसैकसैमा १०÷१२ वर्षका बच्चामा पनि देखिन सक्छ । यो रोग लागेका बिरामीलाई आजीवन रगत दिइरहनुपर्ने हुन्छ ।

यो रोगको भरपर्दो अन्य उपचार नभएकाले बच्चा जन्माउनुपूर्व सावधानी अपनाउनु नै यसको भरपर्दो उपाय हो । नेपाल थालेसिमिया सोसाइटीका अनुसार नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा यो रोग भएको अनुमान छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *