स्वास्थ्य मन्त्रीका लागि भएको डा. मिश्राको सिफारिस ‘होल्ड’
काठमाडौँ, ६ असोज । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस भएको डा. संगीता कौशल मिश्राको सिफारिस ‘होल्ड’ गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा आइतबार बेलुका पाँच जना मन्त्रीलाई नियुक्त गर्न सिफारिस गरेकी थिईन् । त्यसमा एक जना थिईन डा. मिश्रा ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अतिरिक्त स्वास्थ्य सचिवबाट आइतबार राजिनामा दिएर स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा. मिश्रालाई भ्रष्टाचारको आरोप लागेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्री कार्कीले सिफारिस होल्डमा राखेकी हुन् ।
डा मिश्रालाई मन्त्रीका लागि सिफारिस भएको खबर सार्वजनिक भएपछि अख्तियारले डा. मिश्राको नाममा धेरै उजुरी परेको, छानविन पनि अन्तिम चरणमा पुगेको भन्दै प्रधानमन्त्री कार्कीलाई जानकारी गराएको थियो । त्यसपछि सिफारिस ‘होल्ड’ गरिएको हो ।
यो संगै डा मिश्रा मन्त्री नबन्ने सम्भावना बढेको छ ।
आइतबार प्रधानमन्त्री कार्कीले डा. मिश्रासंगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा. मदन परियार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेललाई सिफारिस गरेकी थिइन् ।
राष्ट्रपति कार्यालयले नयाँ मन्त्रीहरुको सपथग्रहण कार्यक्रम दिउँसो २ बजे हुने बताएको छ ।
सम्पर्क इमेल : [email protected]